News Desk
कर्णाली यसभिसले जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल) मा लगातार चौथो खेल जितेर अंक तालिकाको शीर्षमा उक्लिएको छ।
विहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप) को कभर्डहलमा कर्णालीले ५ सेटमा लम्बिएको खेलमा चितवन शक्तिलाई रोमाञ्चक जित हासिल गर्दै काठमाडौँ स्पाइकर्सलाई अंक तालिकामा उछिनेको हो।
कर्णालीले चितवनलाई ३-२ सेटमा पराजित गर्यो।
पहिलो सेट चितवनले २५-२० ले जितेर अग्रता लिए पनि कर्णालीले दोस्रो सेट २५-१८ ले जितेर १-१ सेटले बराबरी गरेको थियो।
तेस्रो सेटमा चितवनले पुनरागमन गर्दै २५-२१ ले जितेर फेरि २-१ को अग्रता लियो। चौथो सेटमा कर्णालीले चितवनलाई २५-१५ ले पराजित गर्दै २-२ को बराबरी गरेर खेल रोमाञ्चक मोडमा ल्याएको थियो।
निर्णायक रहेको तर रोमाञ्चक बनेको पाँचौँ सेट १५-१३ ले जितेर कर्णालीले लगातार लिगमा चौथो विजय पायो।
आजको खेलमा कर्णालीकी कप्तान सुमित्रा रेग्मी‚ मिना सुनार र टर्कीकी खेलाडी जेनबले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
४ खेलमा १० अंक जोडेको कर्णाली शीर्षमा उक्लिएको छ। यसअघि कर्णालीले मधेश युनाइटेडलाई ३-१, गण्डकी थन्डर्सलाई ३-२ र ललितपुर क्सिन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।
४ खेल नै खेलेको चितवन ७ अंकसहित तेस्रो स्थानमा छ। यसअघि गण्डकी र मधेश दुवैलाई ३-१ को सेटमा हराएको चितवन काठमाडौँ स्पाइकर्ससँग ३-१ सेटमा नै पराजित भएको थियो।
लिग चरणको अन्तिम खेलमा शुक्रवार कर्णालीले काठमाडौँ स्पाइकर्स र चितवनले ललितपुर क्विन्सको सामना गर्नेछन।
बिहीवार नै भएको खेलमा काठमाडौँले मधेशलाई ३-१ को सेटमा पराजित गरेको थियो।