चेन्नई सुपर किंग्सको विजयी सुरुवात, मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित
News Desk
Mar-24 तारिख 06:24 बिहान

इण्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गर्दै विजयी यात्रा सुरु गरेको छ।

आइतबार राति एमए चिदम्बरम स्टेडियममा भएको खेलमा मुम्बईले टस गुमाएर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५५ रनको योगफल खडा गर्‍यो। चेन्नईले यो लक्ष्य १९.१ ओभरमै ६ विकेट गुमाएर पूरा गर्‍यो।

मुम्बईको मध्यम स्कोर, चेन्नईको प्रभावशाली बलिङ

पहिलो ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। कप्तान सूर्यकुमार यादवले २९ रनको योगदान दिए भने नमन धिर (१७), रायन रिकेन्टन (१३) र मिचेल सान्टनर (११) ले दोहोरो अंक छुन सफल भए।

चेन्नईको बलिङतर्फ नुर अहमदले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए, उनले मात्र १८ रन खर्चिए। खलिल अहमदले पनि आक्रामक बलिङ गर्दै ३ विकेट झारे। नाथन एलिस र रविचन्द्रन अश्विनले समान १-१ विकेट लिए।

रचिन र रितुराजको अर्धशतक, चेन्नईको सानदार जित

१५६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईका ओपनर रचिन रविन्द्रले उत्कृष्ट पारी खेले। उनले ४५ बलमा २ चौका र ४ छक्कासहित अविजित ६५ रन जोडे। कप्तान रितुराज गायकवाडले पनि आक्रामक प्रदर्शन गर्दै २६ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए।

रविन्द्र जडेजाले १७ रन बनाएर रन आउट भए, जबकि अन्य ब्याटरले प्रभाव पार्न सकेनन्। मुम्बईका बलर भिगनेसले ३ विकेट लिए भने दीपक चाहर र विल ज्याक्सले समान १-१ विकेट लिए।

यो जितसँगै चेन्नई सुपर किंग्सले आईपीएलको नयाँ सिजनलाई उत्साहजनक सुरुवात गरेको छ।

धेरै पढिएको