आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले आफ्नो चिरप्रतिद्वन्द्वी संयुक्त अरब एमिरेट्स (यूएई)माथि सनसनीपूर्ण जित दर्ता गर्दै लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउन सम्भावना अझ प्रबल बनाएको छ। आजको खेल नेपाल र यूएई दुवैका लागि निर्णायक मानिएको थियो, किनकि दुवै टोलीलाई विश्वकपमा पुग्न जित अत्यावश्यक थियो।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई १ रनले हरायो। यस जितसँगै नेपालले सुपर सिक्समा ४ अंक पुर्याएको छ। समूह चरणमा जापानमाथिको जितबाट नेपालले २ अंक बटुलेको थियो। उता, आजै सम्पन्न सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले पराजित गर्दै ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ।
समान ४ अंक भए पनि नेपाल नेट रनरेटका आधारमा ओमानभन्दा पछि रहँदै दोस्रो स्थानमा छ। यूएई भने दुई अंकका साथ तेस्रो स्थानमा सीमित भएको छ।
‘एसोसियट एल–क्लासिको’ भनिने रोमाञ्चक भिडन्तमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन मात्र बनाउन सफल भयो।
यूएईका अलिसान सराफुले शानदार प्रदर्शन गर्दै सर्वाधिक ५८ रन जोडे, तर टोलीलाई जित दिलाउन सकेनन्। उनले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरे, तर अन्ततः दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट भए। ओपनर जोनाथन फीजीले १९ रन बनाए भने ध्रुव परासनले ३२ रनको योगदान दिए।
१९औं ओभरको अन्तिम बलमा ध्रुव परासरले नन्दन यादवलाई छक्का हानेपछि नेपालमाथि दबाब आएको थियो। तर अन्तिम ओभरको नाटकीय क्षणमा, तेस्रो बलमा सराफुले ऐरिलाई छक्का हान्दै खेललाई यूएईतर्फ मोड्ने संकेत दिएका थिए। त्यसपछि चौथो बलमा सन्दीप जोराले परासरलाई क्याच आउट गराउँदै नेपालको जित सुनिश्चित गरे।
खेलको पाँचौं ओभरमा हैडर अली रन आउट भएपछि नेपालले केही सहजता महसुस गर्यो। त्यसपछि ओभरको अन्तिम बलमा जैद अली पनि रन आउट भएपछि यूएईको सम्भावना टुट्यो र नेपालले १ रनले जित निकालेको हो।
बलिङतर्फ नेपालका लागि दिपेन्द्र सिंह ऐरि सर्वाधिक प्रभावकारी रहे, उनले ३ विकेट लिए। सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
ओपनर आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७।५ ओभरमा ५६ रनको बलियो साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए। कुशलले २६ बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए र हर्षित कौशिकको बलमा एलबीडब्लू भए।
कप्तान रोहित पौडेलले १९ बलमा १ चौकासहित २० रन जोडे तर मुहम्मद रोहिदको बलमा क्याच आउट भए। ओपनर आशिफ शेखले स्थिर पारी खेलेर ५१ रन बनाए। उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरेपछि ध्रुव परासरको बलमा बोल्ड आउट हुँदै १६औं ओभरमा पवेलियन फर्के।
यस जितसँगै नेपालले न केवल सुपर सिक्समा आफ्नो स्थिति सुदृढ बनाएको छ, तर आगामी विश्वकपका लागि बलियो दावेदारको रूपमा पुनः पहिचान पनि स्थापित गरेको छ।