नेपाललाई आईसिसी मेड​न​ उपाधि, स​माओ १२४ र​न​ले प​राजित​
News Desk
Oct-17 तारिख 07:44 बेलुका

आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रीय छनोटको अन्तिम खेलमा सामोआमाथि शानदार जित निकाल्दै नेपालले प्रतियोगिताको उपाधि जितेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै इतिहास रचेको हो। यो उपाधि नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो आइसीसी शीर्षक हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल खडा गर्‍यो।
नेपालका लागि ओपनर आसिफ शेख उत्कृष्ट फर्ममा देखिए। उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए। तेस्रो क्रममा आएका दिपेन्द्र सिंह ऐरीले पनि आक्रामक ब्याटिङ गर्दै ३३ बलमा ५३ रन जोडे। कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहे भने लोकेश बमले अन्त्यतिर तीब्र खेल्दै ३९ रनमा अविजित रहँदै नेपाललाई बलियो स्कोरसम्म पुर्‍याए। कुशल भुर्तेलले १७ रन योगदान दिए।

२१२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सामोआ नेपालका बलरहरूसामु असहाय देखियो। सामोआले २० ओभरमा ७ विकेट गुमाएर जम्मा ८७ रन मात्र बनाउन सक्यो।
ओपनर सिन सोलिआले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए। बेन्जामिन माइलाटाले ११ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका लागि बलिङतर्फ ललित राजवंशी चम्किए। उनले ३ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र रोहित पौडेलले समान १–१ विकेट हात पारे।

यसअघि सुपर सिक्स चरणमा नेपालले लगातार उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई १ रनले, कतारलाई ५ रनले र ओमानलाई ३८ रनले पराजित गरेको थियो।
यो प्रतियोगिताबाट नेपाल, ओमान र यूएईले २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा स्थान पक्का गरेका छन्। जापान, कतार र सामोआ सुपर सिक्ससम्म पुगेका टिम हुन्।

धेरै पढिएको