महिला ट्राई–नेसन्स : भारतमाथि नेपालको सान्त्वना जित
News Desk
Oct-28 तारिख 06:36 बिहान • आज

काठमाडौं । सिलोङमा जारी महिला ट्राई–नेसन्स अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले भारतलाई पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ।

जवाहरलाल नेहरू रंगशालामा सोमबार साँझ भएको खेलमा सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनका कारण नेपालले भारतलाई २–१ ले हराएको हो। सावित्राले खेलमा दुई गोल गरेकी थिइन्। यसअघि लगातार दुई जित निकाल्दै इरानले प्रतियोगिताको उपाधि सुरक्षित गरिसकेको थियो।

नेपालले खेलको सुरुवातमै गोल गर्दै भारतलाई दबाबमा पारेको थियो। खेलको दोस्रो मिनेटमा डिफेन्डर विमला विकको लामो पास सावित्राले नियन्त्रणमा लिई सुन्दर गोल गरेकी थिइन्। त्यसपछि पनि भारतले बराबरी गर्ने अवसर पाए पनि प्रहार लक्ष्यमा पुग्न सकेन।

३३औं मिनेटमा भारतकी ग्रेस डाङ्मीको क्रसमा फरवार्डले गोल गर्न चुकेपछि विमला विकले क्लियर गरेकी थिइन्। कप्तान संगीता सबफोरको प्रहार बाहिर गएपछि भारतले सुनौलो मौका गुमायो।

पहिलो हाफको अन्त्यतिर सावित्राले थप गोल गर्ने अवसर पाएकी थिइन् तर भारतकी गोलकिपर पान्थोइ चानुले उत्कृष्ट बचाउ गरिन्। यस्तै, विमला विकको लामो प्रहार पनि चानुले रोक्न सफल भइन्।

दोस्रो हाफमा नेपालले आक्रमणको लय निरन्तरता दियो। खेलको ६२औं मिनेटमा पेनाल्टी क्षेत्र नजिकको फ्रि–किकबाट सावित्राले दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन्। तर खेलको ८०औं मिनेटमा भारतकी करिश्माले टिमका लागि एक गोल फर्काइन्। लामो दूरीको बललाई उनले उत्कृष्ट फिनिसिङ गर्दै नेटमा पठाएकी थिइन्।

अन्ततः निर्धारित समयसम्म थप गोल हुन नसकेपछि नेपाल २–१ ले विजयी भयो। यो जितसँगै नेपालले प्रतियोगितामा सान्त्वना जित हात पार्‍यो भने भारत जितविहीन रह्यो। अब नेपालले सिक्किममा भारतविरुद्ध नै एक मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।