अस्ट्रेलियाको भारतमाथि चार विकेटको शानदार जित
News Desk
Nov-01 तारिख 07:00 बिहान

मेलबर्न | अस्ट्रेलियाले भारतविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेटको जित हात पारेको छ। यससँगै पाँच खेलको सिरिजमा घरेलु टोली अस्ट्रेलिया १–० ले अगाडि पुगेको छ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले भारतीय ब्याटिङ लाइनअपलाई सुरुवातीमै दबाबमा पारेको थियो। भारतले १८.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२५ रन बनाउन सक्यो। भारतका तर्फबाट अभिषेक शर्माले ३७ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन जोडे भने अन्य ब्याटरहरू उल्लेखनीय प्रदर्शन गर्न असफल भए।

जस हेजलउडको घातक बलिङका कारण भारतले पावरप्लेभित्रै ४ विकेट गुमायो। शुभमन गिल, सञ्जु सामसन, सूर्यकुमार यादव र तिलक वर्मा सस्तोमा आउट भए। हर्षित रानाले ३५ रन बनाए भने अन्य ब्याटरहरू दोहोरो अंक पार गर्न सकेनन्। हेजलउडले ३ विकेट लिँदा जेभियर बार्टलेट र नाथन एलिसले समान २–२ विकेट झारे।

१२६ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले ४० बल बाँकी रहँदा ६ विकेट गुमाएर सहज जित हात पार्‍यो। ट्राभिस हेडले १५ बलमा २८ रन, मिचेल मार्शले ४६ रन, जस इग्लिसले २० रन र मिचेल ओवेनले १४ रन जोडे। मार्कस स्टोनिस ६ रनमा अविजित रहे।

भारतका जस्प्रित बुमराह, वरुण चक्रवर्ती र कुलदिप यादवले समान २–२ विकेट लिए। यसअघि सिरिजको पहिलो टी–२० खेल वर्षाका कारण रद्द भएको थियो। अब तेस्रो खेल आइतबार खेलिनेछ।