विराटनगर किंग्सको लगातार दोस्रो जीत, काठमाडौं गोर्खाज फेरि पराजित
News Desk
Nov-23 , 2025 तारिख 06:38 बिहान

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकाल्दै उत्कृष्ट फर्म कायम राखेको छ। आज भएको खेलमा विराटनगरले काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै ४ अंकसँग अंकतालिकामा मजबुत स्थिति बनाएको छ। काठमाडौंले भने लगातार दोस्रो हार बेहोर्नु परेको छ।

काठमाडौंले दिएर गएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमै ५ विकेटको क्षतिमा सहज रूपमा पूरा गर्यो। पावर प्लेमा ६७ रन जोडेर विराटनगरले सुरुवातमै खेल आफ्नो नियन्त्रणमा ल्याएको थियो। ओपनर लोकेश बम १४ रनमा करण केसीको बलमा सन्तोष यादवद्वारा क्याच आउट हुँदै पहिलो विकेट गुमाएका थिए।

त्यसपछि जर्ज मुन्से र मार्टिन गप्टिलले दोस्रो विकेटका लागि ५३ रनको महत्वपूर्ण साझेदारी गरे। मुन्सेले १६ बलमा आक्रामक ३६ रन बनाए भने गप्टिलले २५ रन जोडे। दुवै खेलाडी आउट भएपछि विराटनगरले केही क्षण दबाब महसुस गरे पनि बसिर अहमद र नरेनको योगदानले लक्ष्य नजिक पुग्यो। अन्त्यतिर कप्तान सन्दीप लामिछाने र शुभमले इनिङ्स सम्हाल्दै टिमलाई जितसम्म पुर्‍याए।

काठमाडौंका बलरमध्ये साहब आलम उत्कृष्ट रहे। उनले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए भने करण, रसिद र सन्तोषले १–१ विकेट झारे।

यसअघि टस जितेर बलिङ रोजेको विराटनगरले काठमाडौंलाई २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रनमै सीमित पारेको थियो। सुरुवाती ओभरमै मर्चेन्ट डि लाङ्गेले आकाश त्रिपाठीलाई शून्यमै आउट गर्दै काठमाडौंलाई झट्का दिए। रिकार्डो भास्कोन्केलोस रन आउट हुँदा ७ रनमै दोस्रो विकेट खस्यो। प्रतिक श्रेष्ठ र गेराथ इरासमस पनि सस्तोमा आउट भएपछि २९ रनभित्रै काठमाडौंले ४ विकेट गुमाइसकेको थियो।

ओपनर बेन्स चार्लसवर्थले ३३ बलमा ३२ रन बनाएर केही स्थिरता ल्याउने प्रयास गरे तर समग्रमा काठमाडौंले आफ्नो इनिङ्सभरि रन बनाउन संघर्ष नै गर्यो। १५ ओभरसम्म पुगेको स्कोर ७१ रन मात्र थियो। अन्त्यतिर मोहम्मद आदिल आलमले अविजित ४८ रनको धैर्यपूर्ण इनिङ्स खेलेपछि काठमाडौं सम्मानजनक स्कोर बनाउन सफल भयो। उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै इनिङ्स उकासे।

विराटनगरतर्फ लाङ्गेले २ विकेट लिए भने सन्दीप र शुभमले १–१ विकेटको योगदान दिए।

आजै दिउँसोको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो। सोमबार फेरि दुई खेल हुनेछन्—पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

 

धेरै पढिएको