News Desk
एशेज शृङ्खलाको पहिलो टेस्टमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। पर्थमा सम्पन्न यो खेल केवल दुई दिनमै टुंगिएको थियो—टेस्ट क्रिकेटमा अत्यन्तै दुर्लभ दृश्य। अस्ट्रेलियाको यो प्रभावशाली जितका प्रमुख नायक ट्राभिस हेड रहे, जसले धमाकेदार १२३ रनको इनिङ्स खेले।
अस्ट्रेलियालाई २०५ रनको लक्ष्य मिळेको थियो, जुन सतहको कठिनाईका कारण त्यति सहज मानिएको थिएन। किनकि दुवै टिम पहिलो इनिङमा २०० रनको स्कोर पार गर्न असफल भएका थिए। बलरमैत्री पिचमा दोस्रो इनिङ्मा पनि इङ्ल्यान्ड २०० रनसम्म पुग्न सकेन, जसले बलरहरूको पूर्ण वर्चस्वलाई स्पष्ट तुल्यायो।
पहिलो इनिङमा अस्ट्रेलियाका स्टार्कले ७ विकेट लिँदै घातक प्रदर्शन गरे भने इङ्ल्यान्डका स्टोक्सले ५ विकेट झारे। तर, खेलको समीकरण बद्लाउने काम ट्राभिस हेडले गरे। उनी क्रिजमा उत्रिँदै पहिलो बलबाटै आक्रमक शैली अपनाए र इङ्ल्यान्डका बलरहरूलाई दबाबमा राखे।
हेडले केवल ६९ डेलिभरीमा शतक पूरा गरे—एशेज इतिहासकै दोस्रो सबैभन्दा छिटो शतक। उनले १६ चौका र ४ छक्का प्रहार गर्दै अन्ततः ८३ बलमा १२३ रनको तूफानी पारी खेल्दा अस्ट्रेलियाको जित सहज भएको थियो। उनको यही ऐतिहासिक इनिङले खेललाई एकतर्फी बनायो र अस्ट्रेलियालाई शृङ्खलामा अग्रता दिलायो।