News Desk
काठमाडौं | दृष्टिविहीनका लागि आयोजित पहिलो महिला टी–२० विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले शुभकामना तथा बधाइ व्यक्त गरेकी छन्। कडा प्रतिस्पर्धाबीच उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेको नेपाली टोलीले विश्वमञ्चमा देशको सम्मान बढाएको भन्दै प्रधानमन्त्री कार्कीले विशेष प्रशंसा गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत बधाइ सन्देश दिँदै, शारीरिक चुनौतीहरूका बाबजुद खेलाडीले प्रदर्शन गरेको आत्मविश्वास, दृढता र अनुकरणीय लगनशीलताले नेपाललाई गर्व महसुस गराएको उल्लेख गरेकी छन्। दैनिक जीवनमा समेत कठिनाइ भोग्दै आएका यी खेलाडीहरूले विश्वस्तरको प्रतियोगितासम्मको यात्रा तय गर्नु आफैँमा प्रेरणादायी भएको उनको भनाइ छ।
आइतबार कोलम्बोमा सम्पन्न फाइनल खेलमा नेपाल ७ विकेटले पराजित भई उपविजेतामा सीमित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रनको मध्यम चुनौती प्रस्तुत गरेको थियो। तर जवाफी खेलमा भारतले १२ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्दै पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकपको उपाधि हात पारेको थियो।
उपविजेता भए पनि नेपाली महिला दृष्टिविहीन टोलीको ऐतिहासिक प्रदर्शनलाई देशभरबाट प्रशंसा मिलिरहेको छ। यस उपलब्धिले दृष्टिविहीन खेल क्षेत्रप्रति सरकार र समाज दुवैको ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ।