सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित
News Desk
Nov-28 , 2025 तारिख 06:17 बिहान

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा लगातार चौथो जित दर्ता गर्दै प्लेअफ प्रवेशको ढोका झनै व्यापक बनाएको छ। शुक्रबार लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिम अपराजित यात्रा निरन्तर राख्न सफल भयो। लगातार तेस्रो हारसँगै लुम्बिनीको प्लेअफ सम्भावना भने कमजोर बन्दै गएको छ।

१ सय ४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। सुरुआती ओभरमा सावधानीपूर्वक खेल्दै ६ ओभरमा ४४/२ बनेको सुदूरपश्चिमलाई ओपनर विनोद र आरिफ शेखको तेस्रो विकेटका लागि बनेको ९९ रनको साझेदारीले मजबुत आधार दियो। जस ब्राउन ९ रनमा आउट हुँदा र क्रिस लिन १६ रनमा पभेलियन फर्कँदा टोली दबाबमा जस्तै देखिए पनि विनोदको धैर्यपूर्ण पारीले इनिङ्स सम्हालियो।

विनोदले ३७ बलमा अर्धशतक पूरा गर्दै ४९ बलमा ५ चौका र ४ छक्का सहित अविजित ६९ रन बनाए। आरिफले ३९ रन जोडेर समार्थक सहयोग गरे। हर्मित सिंह ७ रनमा अविजित रहे। बलिङमा लुम्बिनीका रुबेन, अविशेष र तिलकले समान १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनी १९.४ ओभरमै १ सय ४३मा अलआउट भयो। उत्कृष्ट सुरुआतसहित १४.१ ओभरसम्म ३ विकेटमा १०४ रन बनाएको लुम्बिनीले अन्तिम क्षणमा ३९ रनको थपमा ७ विकेट गुमाउँदै इनिङ्स समेट्यो।

ओपनर ड्रेसी सर्ट र सुमित महर्जन दुुबैले १८–१८ रन जोडे। कप्तान रोहित पौडेल (३५) र दीलिप नाथ (३१) ले तेस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे पनि रोहितको विकेट पतनपछि लुम्बिनीको पारी तेजीमा ढल्यो। अभिनाश बोहोरा, हर्मित सिंह र हेमन्त धामीको उत्कृष्ट बलिङ प्रदर्शनले लुम्बिनीलाई ठूलो स्कोर बनाउन दिएन। अभिनाश र हर्मितले ३–३ तथा हेमन्तले २ विकेट लिए।

यो जितसँगै सुदूरपश्चिम ४ खेलमा ८ अंकसहित तालिकाको शीर्षस्थानमा मजबुत रूपमा उभिएको छ। प्रतियोगितामा उसले अहिलेसम्म कुनै हार बेहोरेको छैन। लुम्बिनीले भने पहिलो खेलमा चितवनलाई हराएपछि लगातार तीन खेलमा पराजय भोग्दै ४ खेलमा २ अंक मात्र जोड्न सक्यो। अब प्लेअफमा रहिरहन उसलाई बाँकी सबै खेल जित्नु अत्यावश्यक बनेको छ।

आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। पोखरा ‘ग्लासियर्स म्याटर’ लेखिएको हरियो जर्सीसहित मैदान उत्रनेछ भने जनकपुरका खेलाडीले आमाहरूको नाम अंकित जर्सी लगाउनेछन्। दुबै टिमका जर्सी अक्सनमार्फत बेचिनेछ र संकलित रकम पोखराले जलवायु परिवर्तन सम्बन्धी कार्यमा सहयोग गर्ने संस्थालाई प्रदान गर्ने, जनकपुरले भने जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गर्ने जनाएको छ।

धेरै पढिएको