News Desk
लुम्बिनी लायन्सले दोस्रो जित निकाल्दै प्ले अफ प्रवेशको आशालाई जीवित राखेको छ। आइतबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्यो। पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। लगातार हार झेलिरहेको पोखराका लागि यो चौथो खेलमा तेस्रो पराजय हो।
लुम्बिनीको सुरुवात भने मनासिब रहेन। पहिलो ओभरमै ओपनर सुमित महर्जन शून्य रनमा विपिन खत्रीको बलमा आउट हुँदा टोली दबाबमा पर्यो। त्यसपछि डार्सी सर्ट पनि ७ रनमा पेभेलियन फर्किए। २२ रनमै दुई विकेट गुमाएको अवस्थालाई कप्तान रोहित पौडेल र निरोसन डिकवेलाले सम्हाल्दै तेस्रो विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गरे। डिकवेला ३७ रनमा आउट भएपछि लुम्बिनी मध्यम अवस्थामा पुगेको थियो।
टोलीले १०.२ ओभरमा ७६ रन जोड्दा चौथो विकेटको रूपमा दिलीप नाथ १० रनमा आउट भए। त्यही क्रममा लुम्बिनीले १४ ओभरमा १ सय रन पूरा गर्यो। तर १५औँ ओभरको पहिलो बलमै कप्तान रोहित ४० रनमा सागर ढकालको बलमा विकेट गुमाउँदा टोली १ सय रनमै पाँचौं धक्का बेहोर्न बाध्य भयो। अन्तिम पाँच ओभरमै ४९ रन आवश्यक परेको लुम्बिनीका लागि जोरा र गुलबद्दीन नायबले इनिङ्स अघि बढाए।
गुलबद्दीन १७ रनमा आउट भएपछि ट्रम्पलम्यान क्रिजमा आए। अन्तिम १२ बलमा २१ रन आवश्यक हुँदा ट्रम्पलम्यानले केही रन जोडेपनि १९औँ ओभरमा आउट भए। अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा सन्दीप जोराले पहिलो बलमा २ रन, दोस्रो बलमा चौका र चौथो बलमा फेरि चौका प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए।
यसअघि टस जितेर बलिङ रोजेको लुम्बिनीविरुद्ध पोखराले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो। खराब सुरुवातका बीच एडम रोसिङटन र जेम्स निसमले पोखरालाई उकास्ने काम गरे। प्रारम्भिक १० ओभरमा जम्मा ३८ रन बनाएको पोखराले अन्तिम १० ओभरमा ११२ रन जोड्दै प्रतिस्पर्धी स्कोर उभ्यायो।
सुरुवाती पावरप्लेमै शेर मल्लले दुई विकेट निकाल्दा पोखरा दबाबमा परेको थियो। कुशल भुर्तेल लगातार दोस्रो खेलमा गोल्डेन डकमा आउट भए। ४ विकेटमा ३३ रन अवस्थामा निसम–रोसिङटन जोडीले इनिङ्स सम्हाल्दै ९२ रनको साझेदारी गरे। रोसिङटनले ६३ बलमा ७ चौका र ५ छक्का सहित ८१ रन बनाए। निसम भने ५१ रनमा अविजित रहे।
लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले समान २–२ विकेट लिए।
यो हारसँगै पोखराको ४ खेलमा ३ हारसहित २ अंक मात्र भएको छ। लुम्बिनीले पाँचौं खेलमा दोस्रो जित निकाल्दै ४ अंक बनाएको छ।
आजै हुने दोस्रो खेलमा गत संस्करणका फाइनलिस्ट सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। अहिलेसम्म अंक नजोडेको जनकपुर पुछारमा रहेको छ भने सुदूरपश्चिम उत्कृष्ट लयमा छ।