साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा निकाल्यो पहिलो जित
News Desk
Dec-02 , 2025 तारिख 03:22 बेलुका

साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमै पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग दोस्रो सिजनमा आफ्नो प्लेअफ सम्भावनालाई जिउँदो राख्न सफल भएको छ। उच्च स्कोरको रोमाञ्चक खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो। १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमै चार विकेट गुमाउँदै जित हात पारेको हो। पावरप्लेमा एक विकेट गुमाएर ५९ रन बनाएको जनकपुरले सुरुवातदेखि नै आक्रामक तरिकाले रन chase गरेको थियो। आशिफ शेख १८ रनमा आउट भएपछि माज सदाकत र अनिल शाहले उत्कृष्ट साझेदारी गर्दै खेललाई आफ्नो पक्षमा मोडे। दुवैले अर्धशतक प्रहार गर्दै दोस्रो विकेटका लागि ७९ रनको महत्त्वपूर्ण साझेदारी गरे। माजले ३० बलमा ६३ रन बनाउँदै जनकपुरलाई लक्ष्यतर्फ मजबुत अघि बढाए भने अनिलले ६१ रनको प्रभावशाली योगदान दिए। अन्तिमतिर लगातार दुई विकेट गुमाए पनि आदित्य महता र सञ्जय कृष्णमुर्तीले अविजित रहँदै जनकपुरलाई जित दिलाए।

यसअघिको इनिङमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्दा ४ विकेटका क्षतिमा १७६ रन बनाएको थियो। ओपनर डेविड मलन र अर्जुन साउदले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गर्दै शानदार सुरुवात दिलाए। दुवैले अर्धशतक प्रहार गर्दै उत्कृष्ट पारी खेले भने कप्तान कुशल मल्लले अन्तिमतिर १४ बलमा अविजित ३० रन जोडे। तर मध्य ओभरमा लगातार विकेट गुमाउँदा चितवनले अन्त्यमा अपेक्षित गति कायम राख्न सकेन। जनकपुरका माज सदाकत, अनिल शाह, रूपेश सिंह र जान निकोल लोफ्टी इटनले समान एक–एक विकेट लिए।

जनकपुरले यो जितसँगै सिजनमा अंकको खाता खोलेको छ र प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ। अब बाँकी दुई खेल जित्नुका साथै अन्य नतिजा पनि अनुकूल आउनुपर्नेछ। चितवनका लागि भने यो तेस्रो हार हो, दुई जितसहित ४ अंकमा बसिरहेको चितवनको प्लेअफ यात्रा यो हारपछि थप चुनौतीपूर्ण बनेको छ। आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

 

धेरै पढिएको