News Desk
पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौँ गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ।
बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौँले पोखरालाई १३ रनले हराउँदै महत्वपूर्ण जित हात पार्यो। १६६ रनको लक्ष्यको पछ्याइमा उत्रिएको पोखरा एभेन्जर्स २० ओभर पूर्ण खेल्दै पनि १५२ रनमै समेटियो।
यस जितसँगै काठमाडौँले ७ खेलमा १० अंक जोड्दै प्लेअफको स्थान सुरक्षित गर्यो। यस्तै, यसअघि नै सुदूरपश्चिम रोयल्स प्लेअफमा स्थान बनाइसकेको छ। पोखरा भने ६ खेलबाट जम्मा ४ अंकमै सीमित रह्यो।
पोखरा तर्फ ऋषी धवनले उत्कृष्ट प्रदर्शन गर्दै ५४ रन जोडे। उनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। धनञ्जय लक्ष्मणले ३० रन जोड्दा कप्तान कुशल भुर्तेल २२ रनमै आउट भए। जोसन रोयले १६ रन दिएका थिए तर अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन।
बलिङतर्फ काठमाडौँका शहाब आलम चम्किए। उनले ४ ओभरमा मात्र २५ रन खर्चेर ६ विकेट उठाउँदै पोखराको पारी तहसनहस बनाए।