सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा कायम
News Desk
Dec-05 , 2025 तारिख 05:46 बिहान

सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। लगातार चौथो पराजय बेहोरेको चितवनको प्लेअफ सम्भावना झन कमजोर बनेको छ। चितवनको यस हारसँगै विराटनगर किङ्स पनि प्लेअफमा पुगेको तेस्रो टिम बनेको छ।

१७० रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको चितवन १७।१ ओभरमै १२० रनमा अल आउट भयो। पावरप्लेदेखि नै चितवन दबाबमा पर्ने क्रम जारी रह्यो। ३ ओभरभित्रै ओपनर डेविड मलान ६ रनमा रनआउट भए भने अर्का ओपनर अर्जुन साउद पनि १६ रनमा पेभिलियन फर्किए। सेफ जेब केबल ६ रनमै आउट हुँदा चितवनले शुरुदेखि नै विकेटको चाप झेल्नु पर्‍यो।

कप्तान कुशल मल्ल फेरि पनि १५ रनमै रोकिए भने मध्यक्रममा रवि बोपराले २९ रन जोडेर पारी सम्हाल्ने प्रयास गरे। तर, १५ ओभरसम्म १०५ रन बनाउँदा चितवनलाई अन्तिम ३० बलबाट ६५ रन चाहिएको थियो, जसको दबाब खेलेर टिम धराशायी भयो। १६ औँ ओभरमा लगातार ३ विकेट खस्दा चितवनको पारी झन संकटमा पर्‍यो। पुनित मेहराले एकै ओभरमा देव खनाललाई २८ रनमा स्टम्पिङ, जर्जलाई गोल्डेन डकमा र आउटको प्रयासमा ह्याट्रिकको सम्भावना बनाए। यद्यपि ह्याट्रिक सफल नभए पनि टोलीले लगातार ३ विकेट खोस्यो।

रिजन ढकाल (१) र कमल ऐरी (६) पनि सस्तोमै आउट हुँदा चितवनको पारी १२० रनमै समेटियो। सुदूरका तर्फ पुनितले २।१ ओभरमा १४ रन दिएर ३ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। दीपेन्द्र ऐरी, हिक्मत महरा र इशान पाण्डेले पनि १–१ विकेट लिये।

यसअघि टस जितेर फिल्डिङ रोजेको चितवनका बलरहरू सुदूरको बलियो सुरुवात रोक्न सफल भएनन। क्रिस लिन र विनोद भण्डारीको ४६ रनको साझेदारी ले सुदूरलाई बलियो आधार दियो। विनोद २१ रनमा आउट भए भने इशान पाण्डे १ रनमै गिरे। तर लिनले २ रनमै जीवनदान पाएपछि पारी सम्हाल्दै ५६ बलमा ७५ रनको उत्कृष्ट इनिङ खेले। पुनितसँग मिलेर उनले ३८ रनको साझेदारी गरे।

सुदूरले २० ओभरमा ४ विकेट गुमाएर १६९ रन जोड्यो। बलिङतर्फ सेफ जेबले २ विकेट लिए भने रन्जित र जर्जले १/१ विकेट पाए।

यसअघि साहब आलमको ह्याट्रिकसमान ६ विकेटको चम्किलो बलिङमा काठमाडौँ गोर्खाजले पोखरालाई १३ रनले हराउँदै प्लेअफमा स्थान बनाइसकेको छ।

धेरै पढिएको