लुम्बिनी लायन्स प्ले अफमा, एनपिएलको शीर्ष ४ टिम स्पष्ट
News Desk
Dec-06 , 2025 तारिख 06:43 बिहान

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफ समीकरण अन्ततः टुङ्गिएको छ। जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स शीर्ष ४ मा प्रवेश गर्न सफल भयो। यस हारसँगै साविक विजेता जनकपुर बोल्ट्स, चितवन राइनोज र पोखरा राइनोज लिग चरणमै बाहिरिन बाध्य भए।

यस वर्ष प्ले अफमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले स्थान सुरक्षित गरेका छन्। सुदूरपश्चिमबाहेक बाँकी तीन टोली पहिलोपटक अन्तिम चारमा पुगेका हुन्।

लुम्बिनीको चेज– संघर्षपूर्ण तर सफल

१ सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै जित सुनिश्चित गर्‍यो।

पारीको सुरुवात राम्रो भएन। पहिलो ओभरकै पहिलो बलमा सुमित महर्जन गोल्डेन डकमा फर्किए। तर कप्तान रोहित पौडेल र डार्सी सर्टले उत्कृष्ट पुनरागमन गर्दै पावरप्लेमा ४६ रन जोडेर जनकपुरलाई दबाबमा राखे। दुबैबीच दोस्रो विकेटका लागि ६१ रनको साझेदारी बन्यो।

संगिथ कोरेले रोहितलाई एलबिडब्लु आउट गर्दै साझेदारी तोडे। त्यसपछि मयांकद्वारा सन्दीप जोरालाई गोल्डेन डकमा फर्काइएपछि खेल रोमाञ्चक बन्दै गयो। निरोसन डिकवेलाको क्याच अनिल साहले ड्रप गरे पनि उनले अवसर उपयोग गर्न सकेनन् र १७ रनमा आउट भए।

१ सय ८ रनमा पाँचौं विकेट पतन भएपछि लुम्बिनीले अन्तिम २९ बलमा २५ रन बनाउनु पर्ने चुनौती सामना गर्‍यो। जेजे स्मिथ २१ रनमा आउट हुँदा १३ बलबाट १२ रन बाँकी थियो। अन्ततः दिलिप नाथ र ट्रम्पलम्यानले संयमित खेल प्रदर्शन गर्दै लक्ष्य पूरा गराए।

संगिथ कोरे लक्षणीय रहे—४ ओभरमा २५ रन दिएर ३ विकेट। मयांन यादवले २ विकेट लिए।

जनकपुरको पारी—सुरुआती झट्काले थिचियो

टस जितेर ब्याटिङ थालेको जनकपुरले अपेक्षित सुरुआत पाउन सकेन। पहिलो पावरप्लेमा ३ विकेट गुमाएर ३६ रन मात्रै जोड्यो।

पहिलो झट्का माज सदाकतलाई ६ रनमा क्याच–विहाइन्ड गराएर आयो। त्यसपछि अनिल साह (७) र आशिफ शेख (२०) पनि नियमित अन्तरालमा आउट हुँदा दबाब थपियो।

१० ओभर सकिँदा स्कोर ५७/४ मात्र थियो। बीच अवस्थामा पनि जनकपुरले गति समात्न सकेन। १४ औं ओभरमा कप्तान रोहितले लगातार दुई विकेट—सञ्जय कृष्णमुर्ती (१४) र कप्तान लोफ्टी (०)—लिएपछि जनकपुर ८३/६ मा पुग्यो।

अन्त्यतिर मयांन यादव र संगिथ कोरेले संयमित साझेदारी गर्दै ४९ अविजित रन जोडे। संगिथ ४५* रनसहित टिमका शीर्ष स्कोरर बने भने मयांन २७* रनमा रहे। जनकपुर २० ओभरमा १३३/६ मा रोकियो।

अंक तालिका र प्ले अफ अवस्था

  • सुदूरपश्चिम रोयल्स – ६ खेल, ६ जित, १२ अंक (टपमा, क्वालिफायर १ पक्का)

  • काठमाडौं गोर्खाज – ७ खेल, १० अंक (प्ले अफ पक्का)

  • विराटनगर किंग्स – ६ खेल, ८ अंक (प्ले अफ पक्का)

  • लुम्बिनी लायन्स – ७ खेल, ८ अंक (प्ले अफ प्रवेश)

  • जनकपुर बोल्ट्स – ६ खेल, २ अंक (बाहिर)

भोलि सुदूरपश्चिम–विराटनगर र चितवन–पोखरा बीच महत्वपूर्ण दुई खेल हुनेछ।

 

धेरै पढिएको