News Desk
काठमाडौं | विराटनगर किंग्सले शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई पहिलो हार चखाउँदै क्वालिफायर १ मा स्थान सुरक्षित गरेको छ। १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै रनरेटमा काठमाडौं गोर्खाजलाई पछि पार्यो। लगातार ६ खेल जितेर पहिल्यै क्वालिफायर–१ पुगेको सुदूरपश्चिमका लागि यो सिजनको पहिलो पराजय हो, र अब पहिलो क्वालिफायरमै यी दुई टोली फेरि आमनेसामने हुनेछन्। विराटनगरले आवश्यक रनरेट पूरा गर्न खेलको सुरुदेखिनै आक्रमक ब्याटिङ अवलम्बन गर्यो। पहिलो पटक ओपनिङमा आएका फाफ डु प्लेसिस र साम हेजललेटले पावरप्लेमा नै ८७ रन जोडेर सिजनकै सर्वोच्च पावरप्ले स्कोर बनाएका थिए। फाफले १९ बलमै ५ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे भने हेजललेटले पनि २६ बलमा ५१ रन बनाउँदै उत्कृष्ट साथ दिए। दुवैले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे। फाफ ५० रनमा आउट भए भने हेजललेट ५१ रनमा पेभेलियन फर्किए। मार्टिन गप्टिलले २२ रन जोडे भने अन्त्यतिर प्रतिश जिसीले ३ बलमा २ छक्का प्रहार गर्दै अविजित १३ रन जोडे। सुदूरपश्चिमका अभिनाष बोहराले २ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। पावरप्लेमा ३६ रन मात्रै जोडेको टोलीले विनोद भण्डारीलाई १५ रनमा गुमायो। जस ब्राउनले जीवनदान पाए पनि २४ रनमै आउट भए। त्यसपछि आशिफ शेख र इशान पाण्डेले इनिङ सम्हाल्दै ७२ रनको साझेदारी गरे। यद्यपि सन्दीप लामिछानेले लगातार दुई बलमा इशान (३८) र हर्मित सिंह (०) लाई आउट गर्दै सुदूरपश्चिमलाई दबाबमा पारे। अन्त्यमा आरिफ शेखले ३२ बलमा अविजित ४५ रन बनाए, तर टोलीको स्कोर धेरै बढ्न सकेन। विराटनगरका कप्तान सन्दीपले ४ ओभरमा २० रन दिँदै ३ विकेट लिए र १५ विकेटसहित प्रतियोगिताका शीर्ष विकेट–टेकर बने। अंकतालिकामा सुदूरपश्चिम १२ अंकसहित शीर्षस्थानमा रह्यो, जबकि विराटनगर १० अंकसहित दोस्रो, काठमाडौं गोर्खाज १० अंकमै भए पनि रन–रेटका कारण तेस्रो र लुम्बिनी लायन्स ८ अंकसहित चौथो स्थानमा रहे। अब पहिलो एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्नेछन्। आज हुने अर्को खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ, यद्यपि दुवै टोली यसअघि नै लिग चरणबाट बाहिरिइसकेका छन्।