पोखराले चितवन राइनोजलाई ८ विकेटले ह​रायो
News Desk
Dec-06 , 2025 तारिख 07:55 बेलुका

पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पाँचौँ स्थानमा रहँदै आफ्नो यात्रा समाप्त गरेको छ। सात खेलमध्ये तेस्रो जित निकाल्दै टोलीले लिग चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्‍यो। एडम रोसिङ्गटन र अर्जुन कुमालबीचको शतकीय साझेदारीको बलमा पोखराले चितवन राइनोजलाई ८ विकेटको सहज जित दियो।

१ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले स्थिर र संयमित ब्याटिङ गर्दै १९.४ ओभरमा खेल आफ्नो पक्षमा पार्‍यो। आज पहिलो पटक ओपनिङमा आएका अर्जुन र रोसिङ्गटनले पावरप्लेमा नै ३८ रन जोडी टीमलाई राम्रो सुरुवात दिलाए। चितवनका बलरहरूले दबाब सिर्जना गर्न नसक्दा १० ओभरसम्म पोखराले कुनै विकेट नखोसी ६३ रन जोडिसकेको थियो। ११ औं ओभरको अन्त्यमा रोसिङ्गटनले ३७ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे, जुन उनको यो सिजनको दोस्रो फिफ्टी हो। दुवैले मिलेर शतकीय पार्टनरशिप बनाएपछि खेल पोखराको नियन्त्रणमा रह्यो।

१५.२ ओभरमा चितवनले पहिलो विकेट हात पार्‍यो, जब ४८ बल खेलेका रोसिङ्गटन ६५ रनमा आउट भए। पोखरालाई जितका लागि बाँकी २१ रन आवश्यक रहँदा कुशल भुर्तेल ब्याटिङमा आएका थिए, तर उनी ४ रनमै पाभेलियन फर्किए। अर्जुन कुमाल भने ५२ बलमा अविजित ४३ रन बनाउँदै टिमलाई जितसम्म पुर्‍याए। चितवनबाट रिजन ढकाल र सेफ जेबले एक–एक विकेट लिन सफल भए।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो, जुन यस सिजन पहिले ब्याटिङ गर्दा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम कुल योगफल हो। सुरुवात निकै निराशाजनक रह्यो — पहिलो तीन विकेट ७ रनमै खस्दा टोली ठूलो दबाबमा पर्‍यो। अर्जुन साउद १ रन, डेविड मलान ५ रन र रवि बोपरा १ रनमै आउट हुँदा चितवनले पावरप्लेमा २३ रन मात्र जोड्न सक्यो।

मध्य ओभरमा सेफ जेबले १७ रन जोडे, तर उनी पनि रोहित चन्दको बलमा आउट भए। चितवनका लागि सर्वाधिक रन देव खनालले बनाए, जसले ४१ बलमा ३५ रन जोडे तर किरण ठगुन्नाको बलमा क्याच आउट हुन पुगे। अन्त्यतिर कुशल मल्लले २३ रन बनाए भने अल्पेश रमजानि ३३ रनमा अविजित रहे। पोखरा एभेन्जर्सका धनञ्जय लक्सम ३ विकेटसहित उत्कृष्ट बलर साबित भए भने विपिन, रोहित र किरणले एक–एक विकेट बटुले।

७ खेलमा ३ जित र ४ हारका साथ ६ अंकमा सीमित भएको पोखरा लगातार दोस्रो सिजन पनि प्लेअफसम्म पुग्न असफल रह्यो। दुई संस्करणमै नपुग्ने उनी एक मात्र टोली बने। चितवनले भने ५ हार र २ जितसहित कुल ४ अंकमा आफ्नो यात्रा टुंग्यायो, यद्यपि पहिलो सिजनमा भने उनीहरू प्लेअफसम्म पुगेका थिए।

यसअघि दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ४ विकेटले हराउँदै विराटनगर किंग्स क्वालिफायर वानमा प्रवेश गर्न सफल भएको थियो। अब क्वालिफायर वानमा सुदूरपश्चिम र विराटनगर भिड्नेछन् भने एलिमिनेटरमा काठमाडौं र लुम्बिनी आमनेसामने हुनेछन्। भोलिको अन्तिम लिग खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।