News Desk
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणलाई निराशाजनक रुपमा टुंग्याएको छ। लगातार चार खेलमा पराजित हुँदै कमजोर सुरुआत गरेको जनकपुरले आइतबार लिग चरणको अन्तिम खेलमा पनि कर्णाली याक्ससँग ३ रनको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने क्रममा कुनै सुधार देखाउन सकेन।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै जोड्न सक्यो। दुवै टोली प्लेअफ प्रतिस्पर्धाबाट पहिले नै बाहिरिसकेकाले यो खेल औपचारिकता जस्तै भए पनि जनकपुरको कमजोर प्रदर्शन अझै दोहोरियो।
जितसँगै कर्णाली याक्सले ७ खेलमा ४ अंक हासिल गर्दै छैटौँ स्थानमा प्रतियोगिता समापन गर्यो। उता जनकपुर बोल्ट्सले २ अंकमा सिमित रहँदै आठौँ स्थानमा रहेर यात्रा टुंग्यायो।
लिगभर जनकपुरले काठमाण्डू गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो। चितवन राइनोजमाथि ६ विकेटको जित हात पारे पनि त्यसलाई निरन्तरता दिन सकेन। लुम्बिनी लायन्ससँग पनि ४ विकेटको नतिजा सुम्पिएको थियो।
जनकपुरका लागि सञ्जय कृष्णमुर्ति मात्र चम्किए। उनले ३९ बलमा ५१ रन बनाए, जसमा १ चौका र ४ छक्का समावेश थिए। संगित कोरेले २५ रन जोड्दा अन्य ब्याटरको प्रदर्शन निराशाजनक रह्यो। कर्णालीका विलियन बसिस्टोले २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो। ओपनर इमरान शेखले ३२ बलमा ३३ रन योगदान दिए। कप्तान सोमपाल कामी अविजित १८ रनमा रहे। अन्यमा गुल्सनकुमार झा १९, प्रियांक पन्चाल १८ र बसिस्टो १५ रनमा आउट भए।
जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले समान २–२ विकेट लिए।