एनपीएल दोस्रो संस्करणको उपाधि विजेता ब​न्यो लुम्बिनी लायन्स
News Desk
Dec-13 , 2025 तारिख 06:40 बेलुका

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले आफ्नो नाममा लेखाएको छ। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले शानदार प्रदर्शनसहित च्याम्पियन बन्न सफल भयो। यससँगै सुदूरपश्चिम भने लगातार दोस्रो पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित हुनुपर्‍यो।

फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स ८५ रनमै अलआउट भयो। कमजोर ब्याटिङका कारण सुदूरपश्चिम ठूलो दबाबमा पर्‍यो। ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले नवौँ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो र ६ विकेटको सहज जित निकाल्दै उपाधि उचाल्यो।

लुम्बिनीका ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ४२ रन बनाएर जितको आधार तयार गरे। अर्का ओपनर डार्सी शटले १३ बलमा १४ रन जोडे। नटआउट रहेका निरोशन डिकवेलाले १२ बलमा ११ रन बनाए भने कप्तान रोहित पौडेलले १२ बलमा १६ रनको योगदान दिए। सन्दीप जोरा शून्य रनमा आउट भए। अर्का नटआउट दिलिप नाथले १ रन जोडे भने लुम्बिनीले २ अतिरिक्त रन प्राप्त गर्‍यो।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। हेमन्त धामीले २ तथा अविनाश बोहराले १ विकेट झारे।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले सिजनकै सबैभन्दा कमजोर प्रदर्शन गर्‍यो। ४ बल बाँकी छँदै ८५ रनमा अलआउट भएको यो योगफल जारी एनपीएलकै न्यूनतम स्कोर हो। उपाधि जित्ने अवसर नजिक आए पनि फाइनलमा खराब खेलले सुदूरपश्चिमलाई निराश बनायो।

पावर प्लेमा नै ३ विकेट गुमाउँदै २० रनमा सीमित भएको सुदूरपश्चिमलाई लुम्बिनीका कप्तान रोहित पौडेलले झनै संकटमा पारे। रोहितले एघारौँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले दीपेन्द्र सिंह ऐरीलाई १३ रनमा आउट गराए भने त्यसपछि दीपक बोहरा र पुनित मेहरालाई शून्य रनमै पवेलियन फर्काए। रोहित जारी एनपीएलमा ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने। यसअघि काठमाडौंका साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए।

लुम्बिनीका बलर शेर मल्लले आरिफ शेख, हरमित सिंह र ईशान पाण्डेलाई आउट गर्दै ३ विकेट लिए। रुबेन ट्रम्पलम्यानले पनि ३ विकेट हात पारे। उनले विनोद भण्डारीलाई पहिलो ओभरमै शून्य रनमा आउट गरे भने सेल्डन ज्याक्सनलाई एलबीडब्लू धरापमा पारे। तिलक भण्डारीले १ विकेट लिए।

सुदूरपश्चिमका लागि ओपनर ईशान पाण्डेले ५१ बलमा १ चौकासहित ३३ रन बनाएर सर्वाधिक स्कोर गरे। कप्तान ऐरीले १३ रन जोडे भने हरमित सिंह र स्कट कुग्लेजिनले समान १०–१० रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

धेरै पढिएको