एनपीएल : नेपाली क्रिकेटका लागि फेरि एकपटक चर्चा र समीक्षा गर्ने महत्वपूर्ण अवसर
News Desk
Dec-15 , 2025 तारिख 06:44 बिहान

शनिबार सम्पन्न भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटका लागि फेरि एकपटक चर्चा र समीक्षा गर्ने महत्वपूर्ण अवसर बनेको छ।

सुरु भएको जम्मा दुई वर्षमै एनपीएलले नेपाली क्रिकेटको संरचनाभित्र आफ्नो अलग पहिचान स्थापित गरिसकेको छ। छोटो समयमै लोकप्रियता र प्रतिस्पर्धात्मक स्तर दुवै हासिल गरेको यो लिग अब केवल फ्रेन्चाइज मनोरञ्जनमा सीमित छैन। राष्ट्रिय टिमका चयनकर्ता र मुख्य प्रशिक्षकदेखि क्रिकेट विश्लेषकसम्म सबैले यस प्रतियोगितालाई गम्भीरतापूर्वक नियाल्ने गरेका छन्, किनकि एनपीएल अब राष्ट्रिय टिमतर्फ फर्कने वा टिममा स्थान जोगाइराख्ने सबैभन्दा महत्वपूर्ण मञ्च बनेको छ।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि राष्ट्रिय जर्सीमा पुनरागमनको ढोका खुल्ने गर्दछ भने अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्ने खेलाडीका लागि भने टिमबाट बाहिरिने जोखिम पनि उत्तिकै बढ्छ। यही कारण एनपीएल हरेक खेलाडीका लागि अवसर र चुनौती दुवै बनेको छ।

यही सन्दर्भमा, दोस्रो संस्करणको एनपीएलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका केही स्थापित राष्ट्रिय टिमका सदस्य तथा प्रतियोगिताअघि निकै चर्चा र हाइप बनाएका तर मैदानमा त्यसलाई प्रमाणित गर्न नसकेका खेलाडीहरू विशेष रूपमा चर्चामा आएका छन्।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स यस सिजन सबैभन्दा निराशाजनक टोलीका रूपमा देखियो। गत संस्करणमा उपाधि जितेर इतिहास रचेको जनकपुर यस पटक भने लिग चरणमै कमजोर प्रदर्शन गर्दै तालिकाको पुछारमा सीमित रह्यो। टोलीको सामूहिक असफलतासँगै उसका प्रमुख स्टार खेलाडीहरू व्यक्तिगत रूपमा पनि प्रभाव जमाउन असफल भए।

जनकपुरका मार्की खेलाडी आसिफ शेख तथा ‘ए’ श्रेणीका खेलाडी अनिल साह र ललित राजवंशी तीनै जनाको प्रदर्शन अपेक्षाभन्दा निकै तल रह्यो। यी तीन खेलाडीका लागि मात्रै जनकपुरले करिब ५० लाख रुपैयाँ खर्च गरेको थियो। उल्लेखनीय कुरा के छ भने, यी सबै नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित र महत्वपूर्ण सदस्यसमेत हुन्।

मार्की खेलाडी आसिफ शेख यस सिजन लयमा देखिएनन्। टी–२० विश्वकपको तयारी चलिरहेको सन्दर्भमा राष्ट्रिय टिमका प्रमुख ओपनरमध्ये एक आसिफको ब्याट मौन रहनु स्वाभाविक रूपमा चिन्ताको विषय बनेको छ। प्रतियोगिताभर उनले ७ खेल खेल्दै मात्र १ सय ५ रन बनाए। उनको औसत १५ मात्र रह्यो भने स्ट्राइकरेट १ सय १२ दशमलव ९० थियो।

यद्यपि उनले एक अर्धशतक प्रहार गरेका थिए, तर तीन खेलमा त उनी शून्यमै आउट भए। विकेटकिपिङतर्फ पनि आसिफको योगदान सीमित रह्यो। पाँच खेलमा किपिङ गर्दा उनी केवल दुई डिस्मिसलमा मात्र प्रत्यक्ष संलग्न हुन सके।

अनिल साहका लागि पनि यो सिजन सम्झनलायक बन्न सकेन। गत संस्करणमा टोलीलाई उपाधि दिलाएका कप्तान अनिल यस पटक बीच सिजनमै कप्तानीबाट हटाइए। एक खेलमा त उनी अन्तिम ११ बाटै बाहिरिएर बेञ्चमै सीमित हुनुपर्‍यो। उनले खेलेका ६ खेलमा जम्मा ७३ रन मात्र बनाए। उनको औसत १२ दशमलव १ रह्यो भने स्ट्राइकरेट पनि १०० भन्दा कम रहनु निराशाजनक पक्ष बन्यो। दुई खेलमा उनी डकआउटसमेत भए।

जनकपुरकै अर्का महत्वपूर्ण खेलाडी ललित राजवंशीले पनि यस सिजन समर्थकको अपेक्षामा खरो उत्रन सकेनन्। गत संस्करणमा १७ विकेट लिँदै टोलीलाई च्याम्पियन बनाएका ललित उत्कृष्ट बलर घोषित हुँदै मोटरसाइकल पुरस्कारका हकदार बनेका थिए। तर यस पटक उनको प्रभाव निकै फिक्का देखियो। पाँच खेलमा अवसर पाएका ललितले जम्मा चार विकेट मात्र लिन सके।

उनले १८ दशमलव ४ ओभर बलिङ गर्दै ७ दशमलव २३ को इकोनोमीमा १ सय ३५ रन खर्चिए। दुई खेलमा त उनी विकेटविहीन नै रहे, जसले टोलीको बलिङ आक्रमण कमजोर बनायो।

चर्चा अनुसार प्रदर्शन गर्न नसकेका अर्का खेलाडी मोहम्मद आदिल आलम पनि हुन्। अक्सनका क्रममा उनलाई भित्र्याउन आठै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो। अन्ततः भाग्यचिठ्ठामार्फत उनी काठमान्डु गोर्खाजमा पुगे। गोर्खाजले प्लेअफसम्मको यात्रा तय गरे पनि आलमको व्यक्तिगत प्रदर्शन भने प्रभावशाली हुन सकेन।

ब्याटिङतर्फ आठ खेलमध्ये सात इनिङ्समा उनले जम्मा ९३ रन मात्र बनाए। ४८ रन नटआउट नै उनको उच्च स्कोर रह्यो। बलिङतर्फ त पूरै प्रतियोगिताभर उनले केवल एक ओभर मात्र बलिङ गर्ने अवसर पाए, जुन आफैंमा उनको प्रयोग र प्रभाव सीमित भएको संकेत हो।

यसबाहेक कुशल मल्ल, पवन सर्राफलगायत केही अन्य चर्चित खेलाडीहरूको प्रदर्शन पनि समर्थकको अपेक्षाअनुसार हुन सकेन। तर, एउटा प्रतियोगिताको आधारमा खेलाडीको सम्पूर्ण क्षमताको मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन।

क्रिकेट असफलता र पुनरागमनको खेल हो। विगतमा पनि कमजोर प्रदर्शनपछि बलियो कमब्याक गरेका खेलाडीका उदाहरण प्रशस्त छन्। एनपीएलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि आम क्रिकेट समर्थकको चाहना एउटै छ, टी–२० विश्वकपअघि नेपाली राष्ट्रिय टिमका सबै मुख्य खेलाडीहरू पुरानै लयमा फर्किएको देख्न पाउनु।

धेरै पढिएको