ललितपुरदेखि अयोध्यासम्म नेपाली धावक रामसुन्दर कार्कीको ऐतिहासिक दौड
News Desk
Dec-19 , 2025 तारिख 06:57 बिहान

काठमाडौँ । नेपाली धावक रामसुन्दर कार्की ललितपुरबाट भारतको उत्तर प्रदेशस्थित अयोध्याको राम मन्दिरसम्म लामो दूरीको दौड गर्न तयारीमा जुटेका छन। ५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड सुरु गर्ने र करिब ४५० किलोमिटर दूरी चैत १३ गते रामनवमीको दिन पूरा गर्ने लक्ष्य लिएका छन।

दौडअघि मार्गको अवस्थाबारे जानकारी लिन कार्की पूर्व खेलाडी गोकुल खत्रीसँग केही दिनभित्र भारततर्फ प्रस्थान गर्ने बताइएको छ।

कार्कीको दौड गोदावरी नगरपालिका–१, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट सुरु हुनेछ। सो स्थान कार्कीको स्थायी बासस्थान पनि हो। उल्लेखनीय कुरा के छ भने उक्त हनुमान मन्दिर स्वयं कार्कीले निर्माण गरेका हुन।

कार्कीका अनुसार यस दौडको मुख्य उद्देश्य हनुमान मन्दिरमा निर्माण गर्न लागिएको २७ फिट अग्लो पित्तलको गदाका लागि आर्थिक सहयोग संकलन गर्नु हो।

लामो दूरी दौडमा अनुभवी कार्की यसअघि पनि विभिन्न धार्मिक तथा सामाजिक उद्देश्यका साथ दौड गर्दै आएका छन। उनले ललितपुरदेखि जनकपुर पाँच पटक, काठमाडौँ–दोलखा तीन पटक, काठमाडौँ–सिन्धुली तीन पटक, काठमाडौँ–बुटवल एक पटक र काठमाडौँदेखि उत्तर प्रदेशसम्म एक पटक दौड पूरा गरिसकेका छन।

यसका अतिरिक्त, उनी काठमाडौँबाट भारतको पश्चिम बंगाल हुँदै भुटानको सीमासम्म पनि दौडिएका छन। अझ उल्लेखनीय उपलब्धि भनेको २०६४ सालमा १०१ दिन लगाएर तत्कालीन ७५ वटै जिल्ला दौडेर पूरा गर्नु हो।

 

धेरै पढिएको