News Desk
आईसीसी महिला टी २० विश्वकपका लागि हुने ग्लोबल छनोट प्रतियोगितामा नेपालको पहिलो प्रतिस्पर्धा थाइल्यान्डसँग हुने भएको छ।
घरेलु मैदानमा आयोजना हुने ग्लोबल छनोटमा नेपालले माघ ४ गते थाइल्यान्डविरुद्ध मैदान उत्रनेछ। त्यसपछि दोस्रो खेलमा माघ ८ गते (जनवरी २२) नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यस्तै, माघ १० गते (जनवरी २४) जिम्बावेसँग र माघ १२ गते (जनवरी २६) स्कटल्यान्डसँग खेल्ने कार्यक्रम तय भएको छ।
नेपाल ग्लोबल छनोटको समूह ‘बी’मा परेको छ। यस समूहमा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड सहभागी छन्।
ग्लोबल छनोट सुरु हुनुअघि नेपाली टोलीले अभ्यास खेल पनि खेल्नेछ। अभ्यास खेलअन्तर्गत जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मुलपानी क्रिकेट मैदानमा र जनवरी १६ मा अमेरिकासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ।
इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपका लागि छनोट खेलहरू आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म सञ्चालन हुनेछन्। छनोटका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना गरिनेछन्।