एन्फा) को माघ २८ गतेका लागि तय गरिएको केन्द्रीय निर्वाचन प्रक्रिया तत्काल रोक्न आदेश
News Desk
Jan-13 तारिख 06:58 बिहान

अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गतेका लागि तय गरिएको केन्द्रीय निर्वाचन प्रक्रिया तत्काल रोक्न उच्च अदालतले सोमबार आदेश जारी गरेको छ। गोर्खा जिल्ला फुटबल संघले निर्वाचन प्रक्रिया रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले माघ ६ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ। सो मितिसम्मका लागि एन्फाको केन्द्रीय निर्वाचनसँग सम्बन्धित सबै गतिविधि र प्रक्रिया स्थगित गर्न अदालतले निर्देशन दिएको छ।

यसअघि एन्फाको केन्द्रीय कार्यसमितिले माघ २८ गते ‘अर्ली इलेक्सन’ गर्ने निर्णय गर्दै निर्वाचनको तयारी र प्रक्रिया अघि बढाइसकेको थियो। तर, एन्फाको वर्तमान कार्यकाल आगामी असार ४ गतेसम्म कायम रहँदा पनि समयअगावै निर्वाचन गर्न लागिएको भन्दै विभिन्न पक्षबाट विरोध जनाइएको थियो।

यद्यपि एन्फा अध्यक्षले भने बदलिँदो परिस्थितिमा संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउन महाधिवेशनसहित निर्वाचन आवश्यक भएको दाबी गर्दै आएका छन्। अदालतको आदेशसँगै एन्फाको निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ।