भारत, वेष्ट इन्डिज र पाकिस्तानको विजयी सुरुवात
News Desk
Feb-08 तारिख 06:26 बिहान

मुम्बई । कप्तान सूर्यकुमार यादवको उत्कृष्ट अर्धशतक र त्यसपछि आएको अनुशासित सामूहिक बलिङको मद्दतमा भारतले आइसिसी पुरुष टि–ट्वान्टी विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। वानखेडे स्टेडियममा शनिबार भएको दिनको तेस्रो खेलमा भारतले संयुक्त राज्य अमेरिकालाई २९ रनले पराजित गर्‍यो।

१६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमै सीमित रह्यो। चौथो विकेटका लागि मिलिन्द कुमार र सञ्जय कृष्णमूर्तिबीच ५८ रनको साझेदारी बने पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेन। सुरुआतमै ३।२ ओभरमा १३ रनमा ३ विकेट गुमाएको अमेरिकालाई यी दुईले सम्हाल्ने प्रयास गरे पनि वरुण चक्रवर्तीले मिलिन्दलाई आउट गरेपछि खेल भारततर्फ ढल्किएको थियो। अन्त्यतिर शुभम रञ्जानेले संघर्ष जारी राखे पनि अन्तिम बलमा मोहम्मद सिराजको बलमा एलबिडब्ल्यू आउट भए।

सिराजले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदै भारतीय बलिङ आक्रमणको नेतृत्व गरे। अर्शदीप सिंह र अक्षर पटेलले समान २–२ विकेट लिए भने चक्रवर्तीले १ विकेट लिए। अमेरिकाका लागि रञ्जाने सर्वाधिक ३७ रनका साथ शीर्ष स्कोरर बने।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रनमै सीमित भएको थियो। कमजोर सुरुआतपछि कप्तान सूर्यकुमार यादवले एक्लै इनिङ्स सम्हाल्दै अविजित ८४ रन बनाए। ४९ बलको उनको इनिङ्समा १० चौका र ४ छक्का समावेश थिए। सातौँ विकेटका लागि अक्षर पटेलसँग बनेको ४१ रनको साझेदारी भारतका लागि निर्णायक सावित भयो। अमेरिकाका बलर शाडली भान स्काल्कवाइकले ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे।

उता, कोलकाताको इडेन गार्डेन्समा भएको समूह ‘सी’ को खेलमा रोमारियो शेफर्डको ह्याट्रिकसहितको घातक बलिङमा वेष्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८।३ ओभरमा ११३ रनमै अलआउट भयो। शेफर्डले एकै ओभरमा तल्लो क्रम ध्वस्त पार्दै ह्याट्रिक पूरा गरेका थिए। उनले ५ विकेट लिए भने जेसन होल्डरले ३ विकेट हात पारे।

पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजका लागि सिमरन हेटमायरले आक्रामक अर्धशतक बनाउँदै ६४ रन जोडे। ब्रान्डन किङ, शाई होप र शेर्फेन रदरफोर्डले पनि उपयोगी योगदान दिए।

त्यसैगरी, श्रीलंकाको कोलम्बोमा भएको खेलमा पाकिस्तानले दबाबपूर्ण अवस्थामा नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै विश्वकपमा सुखद सुरुआत गरेको छ। १४८ रनको लक्ष्य पाकिस्तानले १९।३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। फहिम अशरफले अविजित २९ रनको विस्फोटक इनिङ खेल्दै पाकिस्तानलाई जित दिलाए।

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स २० ओभरमा १४७ रनमै सीमित रह्यो। पाकिस्तानका लागि सलमान मिर्जाले ३ विकेट लिए भने मोहम्मद नवाज, अब्रार अहमद र साइम अयुबले समान २–२ विकेट हात पारे।