News Desk
काठमाडौं | आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको छ र नेपाललाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ।
भारतको मुम्बईस्थित ऐतिहासिक वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। आक्रामक ब्याटिङका लागि परिचित इङ्ल्यान्डले सुरुवातदेखि नै रन गति बढाउने प्रयास गरे पनि नेपाली बलरहरूले बीच–बीचमा महत्वपूर्ण विकेट लिँदै खेललाई प्रतिस्पर्धात्मक बनाइराखे।
नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरी र युवा बलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै समान दुई–दुई विकेट लिए। यस्तै, अनुभवी लेग स्पिनर सन्दीप लामिछाने र शेर मल्लले समान एक–एक विकेट हात पार्दै इङ्ल्यान्डको रन प्रवाहलाई केही हदसम्म नियन्त्रणमा राखे। फिल्डिङतर्फ पनि नेपालले उत्साहजनक प्रदर्शन देखाएको थियो।
यो खेलसँगै नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डविरुद्ध खेल्दै यस संस्करणको विश्वकप यात्रा सुरु गरेको हो। विश्व क्रिकेटको बलियो टोलीसँगको यो प्रतिस्पर्धालाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा तथा सन् २०२४ मा अमेरिकामा आयोजना भएको टी–२० विश्वकपमा सहभागिता जनाएको थियो। तर दुवै संस्करणमा समूह चरण पार गर्न नसकेको नेपाल यसपटक नयाँ इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। वानखडे स्टेडियममा उपस्थित ठूलो संख्याका नेपाली समर्थकको उत्साहबीच नेपालले लक्ष्य पछ्याउँदै जित निकाल्ने प्रयास गर्नेछ।