News Desk
भारत र श्रीलंकामा संयुक्त रूपमा जारी आईसीसी पुरुष टी२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको पाकिस्तानले मंगलबार राति भएको खेलमा अमेरिकामाथि ३२ रनको प्रभावशाली जित दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो। १९१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको अमेरिका २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमै सीमित भयो।
पाकिस्तानका लागि साहिबजादा फर्हानले सर्वाधिक ७३ रनको उत्कृष्ट पारी खेले। उनलाई बाबर आजमले ४६ रन जोड्दै राम्रो साथ दिए भने साधव खानले ३० र सइम अयुबले १९ रनको योगदान गरे। बलिङतर्फ अमेरिकाका स्याडले भान स्काकिकले चार विकेट लिए भने सौरभ नेत्रावल्कर, मोहम्मद मोसिन र हरमित सिंहले समान एक एक विकेट झारे।
लक्ष्य पछ्याउने क्रममा अमेरिकाका लागि शुभम रञ्जनेले ५१ रन बनाउँदै सर्वाधिक योगदान गरे। शायन जहानगिरले ४९, मिलिन्द कुमारले २९ तथा आन्द्रियास गाउसले १३ रन जोडे। अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
पाकिस्तानको बलिङतर्फ उसमान तारिकले तीन विकेट लिए भने साधव खानले दुई विकेट झारे। मोहम्मद नवाज, अब्रार अहमद र शाहीन शाह अफ्रिदीले समान एक एक विकेट लिए।
यो जितसँगै पाकिस्तानले समूह एमा चार अंक जोडेको छ। भारत र नेदरल्यान्ड्स भने समान दुई अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
समूह चरणको तेस्रो खेलमा पाकिस्तानले आइतबार चिर प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल श्रीलंकामा हुनेछ। अमेरिकाले भने शुक्रबार नेदरल्यान्ड्सविरुद्ध आफ्नो अर्को खेल खेल्नेछ।