इटालीसँग १० विकेटको हारपछि नेपालको सुपर–८ यात्रा संकटमा
News Desk
Feb-12 तारिख 07:28 बेलुका

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टि–२० विश्वकपमा अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन। पहिलो पटक विश्वकप खेलेको इटालीसँग नेपाल आज १० विकेटले पराजित भएको छ। यस हारसँगै नेपालको सुपर–८ चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ।

यसअघि पहिलो खेलमा इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको नेपालले आजको खेलमा समर्थकलाई निराश बनायो। मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमै विना विकेटको क्षतिमा पूरा गर्‍यो।

इटालीका मोस्का दाजुभाइ एन्थोनी र जस्टिनले शतकीय साझेदारी गर्दै नेपालमाथि सहज जित निकाले। एन्थोनी मोस्काले ३२ बलमा ६२ रन बनाए भने जस्टिन मोस्का ४४ बलमा ६० रनमा अविजित रहे।

टस जितेर इटालीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल सुरुदेखि नै दबाबमा देखियो। नेपाली टोली २० ओभर पूरा गर्न नसकी १९.३ ओभरमा १२३ रनमा अलआउट भयो। इनिङ्सभर नेपालका ब्याटरहरूले ठूला साझेदारी बनाउन सकेनन्, ४० रनभन्दा माथिको साझेदारी मात्र दुई पटक सम्भव भयो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। करण केसी १८ रनमा अविजित रहे। कप्तान रोहित पौडेलले १४ बलमा २ छक्का सहित २३ रन बनाए। ओपनर आशिफ शेखले २० रन जोड्दा कुशल भुर्तेल ५ रनमै आउट भए। दिपेन्द्र सिंह ऐरी १७ रनमा बोल्ड भए।

बलिङतर्फ इटालीका क्रिसन कालुगामागे, वाट मानेन्ती र अली हसन प्रभावशाली देखिए। नेपाली टोलीका सन्दीप लामिछाने, लोकेश बम र गुलशन झाले थोरै रनमै आउट हुनुपर्‍यो भने नन्दन यादव र ललित राजवंशी शून्य रनमा रनआउट भए।

इटालीसँगको अप्रत्याशित हारले नेपाललाई प्रतियोगितामा कठिन स्थितिमा पुर्‍याएको छ। अब बाँकी खेलहरूमा नेपालको प्रदर्शन निर्णायक हुने छ।