घुँडाको गम्भीर चोटपछि फुटबलर सावित्रा भण्डारीद्वारा उपचारका लागि आर्थिक सहयोग अपिल
News Desk
Feb-24 तारिख 05:51 बिहान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्न आग्रह गरेकी छन्।

हाल न्युजिल्याण्डमा रहेकी उनले सामाजिक सञ्जालमार्फत उपचार खर्च जुटाउन सहयोगको अपिल गरेकी हुन्। उनी सिजन २०२५–२६ का लागि Wellington Phoenix Womenसँग आबद्ध छन्।

गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगअन्तर्गत Brisbane Roar Womenविरुद्धको खेलमा उनी घाइते भएकी थिइन्। खेलको दोस्रो हाफमा बल हेड गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा उनको दाहिने घुँडामा गम्भीर चोट लागेको थियो।

सामाजिक सञ्जालमा उनले हाल जटिल शल्यक्रिया आवश्यक रहेको तर आर्थिक अभावका कारण अहिलेसम्म शल्यक्रिया हुन नसकेको जानकारी दिएकी छन्। प्रारम्भिक अनुमान अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले उल्लेख गरेकी छन्।

उनले शीघ्र उपचारपछि मैदानमा फर्किने आशासहित शुभेच्छुक र समर्थकहरूसँग सहयोगको अपेक्षा व्यक्त गरेकी छन्।

अपिल जस्ताको तस्तैः-

नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको ंसाम्बां
यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।

मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें ।

तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।

यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुनः सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।

म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।

मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुनः माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।

मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थीनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दापनि मैले व्यक्तिगत भन्दापनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।

आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होला? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुनः एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।
मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको क्र वा बैंक मार्फत सहयोग गर्नुहोला ।
विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला ः