विश्वकप लिग–२ मा नेपालको चुनौती : आज स्कटल्यान्डसँग भिड्दै, अपराजित यात्रा कायम राख्ने लक्ष्य
News Desk
May-12 तारिख 06:42 बिहान

 

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। घरेलु मैदानमा समर्थकको साथ पाएको नेपाल स्कटल्यान्डविरुद्धको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छ।

नेपाल र स्कटल्यान्डबीच पछिल्ला भेटहरू नेपाली टोलीका पक्षमा सुखद रहेका छन्। सन् २०२३ मा नेपालमै सम्पन्न लिग–२ सिरिजमा स्कटल्यान्डले दुवै खेल गुमाएको थियो। त्यसपछि भारतमा आयोजित टी–२० विश्वकपमा पनि नेपालले स्कटल्यान्डलाई पराजित गर्दै आफ्नो क्षमता देखाएको थियो। यद्यपि स्कटल्यान्ड अहिले पनि एसोसिएट राष्ट्रमध्ये सबैभन्दा बलियो टोलीमध्ये एक मानिन्छ र लिग–२ को उपाधि रक्षा अभियानमा रहेको छ।

नेपालका लागि यो सिरिज अत्यन्त महत्वपूर्ण मानिएको छ। अर्को वर्ष हुने विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन र थप चार वर्षसम्म एकदिवसीय मान्यता जोगाइराख्न बाँकी १२ खेलमध्ये धेरैभन्दा धेरै जित निकाल्नुपर्ने दबाब नेपालमाथि छ। हाल नेपाल २४ खेलमा आठ जित, १४ हार र दुई खेल अनिर्णित रहँदै १८ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

नेपालको अर्को प्रतिद्वन्द्वी अमेरिका पनि बलियो अवस्थामा रहेको टोली हो। अमेरिकासँग मिलिन्द कुमार, साइतेजा मुक्कामल्ला र कप्तान मोनाङ्क पटेलजस्ता अनुभवी ब्याटर छन् भने सौरभ नेत्रवाल्करको उपस्थितिले बलिङ आक्रमण पनि सुदृढ बनेको छ। पछिल्ला चार ओडीआई खेलमा अमेरिकाले नेपाललाई लगातार हराएको इतिहासले पनि नेपाललाई चुनौती थपिएको छ। नेपालले अमेरिकासँग मे १६ र २२ मा खेल्नेछ।

यद्यपि हालै ओमान र यूएई सहभागी त्रिदेशीय सिरिजमा चारमध्ये तीन खेल जित्दै नेपालले विश्वकप ग्लोबल छनोटको आशालाई पुनर्जीवित बनाएको थियो। त्यसैको निरन्तरतास्वरूप घरेलु मैदानमा हुने यो सिरिजका चारै खेल जित्ने लक्ष्य नेपाली टोलीले राखेको छ।

नेपाल ‘ए’ टोलीसँग भएको अभ्यास खेलमा अमेरिका र स्कटल्यान्ड दुवैले हार व्यहोरेपछि नेपाली टोलीको आत्मविश्वास उच्च बनेको छ। यस सिरिजका लागि बसिर अहमदको स्थानमा ईशान पाण्डेलाई टोलीमा समावेश गरिएको छ भने ओपनर कुशल भुर्तेलको पुनरागमनले ब्याटिङ थप मजबुत बनेको छ। अर्जुन कुमाल र विनोद भण्डारीले पनि अर्को अवसर पाएका छन्।

नेपालको सफलता मुख्य रूपमा दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शनमा निर्भर रहने अपेक्षा गरिएको छ। पछिल्ला खेलहरूमा दुवै खेलाडी उत्कृष्ट लयमा देखिएका छन्। सन्तुलित टोली, घरेलु मैदान र समर्थकको उत्साहले नेपाललाई सकारात्मक ऊर्जा प्रदान गरेको छ।

अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड २८ खेलबाट ३४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। यस्तो अवस्थामा नेपालका लागि प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ।