अखिल नेपाल फुटबल संघ (एन्फा) को  कार्यकारी समितिको बैठक तनावपूर्ण
News Desk
Jul-31 , 2021 तारिख 06:35 बिहान

 

काठमाडौं -अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार मुख्यालय ललितपुरको सातदोबाटोमा बसेको कार्यकारी समितिको बैठक तनावपूर्ण रह्यो ।दिउँसो ४ बजे सुरु हुन भनिए पनि केही ढिला सुरु भएको बैठकका क्रममा पत्रकारलाई एन्फा भवनको परिसरमै प्रवेश दिइएको थिएन । अनि एन्फाका उच्च पदाधिकारी अनिच्छुक हुँदै बोल्न करकापले मात्र तयार भए ।

एन्फा प्रवक्ता किरण राईले सुनाएका ४ निर्णय यस प्रकार रहे, त्यसमध्ये पहिले नेपाल सरकारलाई धन्यवाद दिइएको थियो । धन्यवाद किन भन्दा अक्टोबरको पहिलो साता हुने साफ च्याम्पियनसिप नेपालले आयोजना गर्न सरकारले मन्त्रीस्तरीय निर्णयबाट पाँच करोड दिन स्वीकृति दिएको छ । दोस्रो निर्णय थियो, सन् २०२२ को वुमेन्स एसिया कप छनोटमा भाग लिने र यसअगाडि इरानलगायत देशसँग मैत्रीपूर्ण खेलका लागि पत्रकार गर्ने ।

तेस्रो निर्णयअनुसार साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले बंगलादेश, भारत र सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्रचार गर्ने । चौथो र सर्वाधिक महत्त्वको निर्णय थियो, राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुतारीको राजीनामा र यसका लागि उनले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङमाथि लगाएको आरोपबारे छानबिन गर्न नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने । यी चारै निर्णय सामान्य रहे पनि बैठक भने चर्को असामान्य रह्यो ।

परिस्थिति आफैमा जटिल थियो । बैठक सकिन अगाडि नै वरिष्ठ उपाध्यक्ष नेम्वाङसँगै दुई उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का तथा सदस्य दावा लामा बाहिर निस्के । चारैको अनुहारमा जहाँ आक्रोश थियो, त्यहीं निराशा पनि व्यापक देखिन्थ्यो । प्रवक्ता राई ती चारै जनालाई फकाउन पनि ब्यस्त देखिएन र फेरि बैठकमा सामेल हुन अनुरोध गरिरहेका थिए । तर, उनीहरू फर्केनन् । सबैभन्दा पहिले मिडियासामु खड्का प्रस्तुत भए र उनले दाबी थियो, ‘हामी नेपाली फुटबललाई गतिरोध हुन दिन्नौं ।’