News Desk
काठमाडौं- कुनै पनि ओलम्पिकमा दुई फाइट जित्ने पहिलो नेपाली बनेकी छिन्, पलेशा गोवर्द्धन । पहिलो खेलमै बेलायतकी खेलाडीसँग पराजित भएपनि उनले रेपेचेजमा कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने मौका पाइन् । त्यसमा लगातार दुई खेल जित्दै उनी रेपेचेजको फाइनलमा पुगिन् । चीनकी खेलाडीलाई कडा टक्कर दिएकी पलेशाले अन्तमा १२–९ को अन्तरमा खेल गुमाउँदै पदकबाट बञ्चित भइन् ।कास्य पदक जित्दै नेपाली खेलकुदमा इतिहास रच्नबाट थोरैले चुकेपनि जापानमा जारी प्यारालिम्पिकको तेक्वान्दोमा शुक्रबार पलेशा गोवर्द्धनले गर्व गर्न लायक प्रदर्शन गरेकी छन् ।
पलेशाले कास्य पदकको लागि भएको प्रतिस्पर्धाको पहिलो राउन्डमा अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा केहि कमजोर रहेकी उनले तेस्रो राउन्डमा पुनरागमन गर्दै खेल बराबरी पनि ल्याइन् । तर अन्तिम सेकेन्डमा अंक गुमाएपछि उनी पदकविहीन बन्न पुगिन् । निकै नजिक पुगेर पनि पलेशा पदक जित्न असफल रहिन् ।
पलेशको त्यहाँसम्मको यात्रालाई पनि नेपालले ठूलो उपलब्धि मान्नुपर्छ । सामान्य खेलमा त सरकारको पर्याप्त लगानी हुन नसकेको देशमा पारा खेलाडीका लागि त्यो अपेक्षा गर्नु मुर्खता नै हुन सक्छ । तर, फरक क्षमता भएका खेलाडी पनि उत्तिकै सक्षम छन् भन्ने पलेशाले फेरि एक पटक प्रमाणित गरेकी छिन् । पहिलो पटक पारालिम्पिकमा समावेश तेक्वान्दोमा पलेशाको यो प्रदर्शन स्मरणीय बनेको छ । उनले पदक जितेको भए पारा खेलको महत्वलाई सम्बन्धित निकायका साथै सरकारलाई बुझाउन अझै सहज हुन्थ्यो । त्यो एउटा अवसर भने पारा तेक्वान्दोले गुमाएको छ ।
पारा तेक्वान्दोले निकै अगाडि सम्म जान सक्ने सम्भावना देखाएको केहि वर्ष भयो । पारा तेक्वान्दोका एसियाली च्याम्पियनसिपमा पलेशासहित अन्य खेलाडीले पदक जितेका छन् । विश्व च्याम्पियनसिपमा पनि बलियो उपस्थिति देखाइसकेका छन् । तर, पारा तेक्वान्दोको खेलाडीको क्षमता बढाउन वा यो खेलको विकासका लागि सरकारी निकायको ध्यान भने अझै पुगेको छैन ।
तेक्वान्दो संघ अन्तर्गत रहेर गठन भएको पारा तेक्वान्दो कमिटीको सिमित साधान श्रोतका वावजुद यति सफलता मिलेको छ । संघका कोषाध्यक्ष रहेका कसिम मियाँ पारा तेक्वान्दोका संयोजक हुन् भने ओलम्पिक दीपक विष्ट सचिव । पारा समितिले सहयोगी र प्रायोजकहरुलाई आग्रह गरेरै खेललाई यहाँ सम्म डोर्याएको छ भन्दा फरक पर्दैन ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा बेला बखत केहि आर्थिक सहयोग गर्ने बाहेक सरकारले पारा तेक्वान्दोका लागि कुनै लगानी गरेको छैन । थोरै सहयोग गर्दा पनि पारा खेलाडीले विश्वमञ्चमा सफलता दिलाउन सक्ने सम्भावना पलेशाले देखाइसकेकी छिन् । पलेशाजस्ता थुप्रै प्रतिभावान खेलाडी पारामा छन् । त्यसतर्फ सरकारी खेल निकायको ध्यान जान आवश्यक छ ।
पलेशाले कास्य पदक जितेको भए नेपाल सरकारको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को अनुरुप उनले ५० लाख रुपैयाँ प्राप्त गर्ने थिइन् । प्रशिक्षकलाई ४ लाख ५० हजार र संघलाई ९ लाख दिने प्रावधान रहेको छ । सरकारको कुनै लगानीबिना पनि पलेशा कास्य पदक नजिक पुगिन् । सायद केहि सेकेन्डको अन्तरले पलेशाको हातमा कास्य पदक हुन पनि सक्थ्यो ।
सरकारले पुरस्कारलाई भन्दा तयारीलाई जोड दिएको भए सायद पलेशाजस्ता अन्य धेरै खेलाडीले नेपालका लागि पदक जित्ने सम्भावना बुन्थे । पदक जितेपछिको लगानीभन्दा पदक जित्न आधार तय गर्ने हो भने त्यसले राष्ट्रका लागि धेरै फाइदा दिन्छ । केहि सिमित व्यक्तिहरुको प्रयासले भएपनि यसपटक तेक्वान्दोले यो सफलता हासिल गरेको छ ।
झण्डै सात वर्षदेखि समिति आफ्नै प्रयासमा उभिने प्रयास गर्दै आएको छ । ठूलो सपना देखेर समितिले पलेशा र रन्जना धामीलाई पारा ओलम्पिक छनोटका लागि तयार पारेको थियो । कोरोनाका कारण छनोट खेल्न जान नसकेपछि वाइल्ड कार्ड प्राप्त गरेर पलेशाले पारालिम्पिक खेल्ने अवसर पाएकी थिइन् । पदक जित्नबाट थोरै चुकेपनि उनले नेपाली खेलाडीमा रहेको सम्भावनालाई विश्व सामू देखाएकी छिन् ।