नेपाली महिला टोली पराजित
News Desk
Nov-09 , 2021 तारिख 01:14 बेलुका

 

काठमाडौँ — बंगलादेश भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले सोमबार हार बेहोरेको छ । बंगलादेशको ढाकामा नेपाली राष्ट्रिय टोलीलाई बीकेएसपीले ५ विकेटले पराजित गरेको हो । बीकेएसपी मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.३ ओभरमा ४५ रनमै आउट भयो । ओपनर ज्योति पाण्डे र तल्लोक्रममा ब्याटिङ गरेकी अप्सरी बेगमले समान १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । सीता रानामगर ५, इन्दु बर्मा १, कविता कुँवर र कप्तान रुबिना क्षेत्री समान १, रोमा थापा र कविता जोशी शून्य, संगीता राई १ तथा सरस्वती २ रनमा आउट भए ।

बीकेएसपीकी मारुफाले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । सुमैयाले २१ रन बनाएपछि बीकेएसपी १२.४ ओभरमै लक्ष्य पूरा गर्‍यो । नेपालबाट कविता कुँवरले २ तथा सवनम राई र सरस्वती चौधरीले १–१ विकेट लिए । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट तयारीका लागि बंगलादेशमा रहेको नेपालले शनिबार पहिलो खेलमा बीकेएसपीलाई २४ रनले पराजित गरेको थियो ।      

( कान्तिपुर दैनिक )