अस्ट्रेलियासँग पाकिस्तानको भेट
News Desk
Nov-09 , 2021 तारिख 01:17 बेलुका

शारजहाँ — कप्तान बाबर आजम र शोएब मलिकको अर्धशतकपछि पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले हराएर आईसीसी ट्वान्टी–२० विश्वकप सेमिफाइनलमा अस्ट्रेलियासँगको भेट पक्का गरेको छ । बाबरले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा व्यक्तिगत २४ औं अर्धशतक प्रहार गर्नेक्रममा ४७ बलमा ६६ रन बनाए । जारी विश्वकपको ५ खेलमा यो उनको चौथो अर्धशतक हो । मलिकले १८ बलमा आक्रामक इनिङ्स खेल्दै अविजित ५४ रन बनाएपछि पाकिस्तानले १८९–४ को स्कोर खडा गरेको थियो । 

स्कटल्यान्डको प्रदर्शन बलियो थिएन । रिची बेरिङ्टनले ३७ बलमा अविजित ५४ रनको योगदान गर्दा टिम ११७–६ मा समेटियो । यो जितले पाकिस्तानलाई समूह २ को विजेता बनाएको छ, जहाँ टोलीले शतप्रतिशत जित निकाल्यो । बिहीबार दुबईमा हुने दोस्रो सेमिफाइनलमा पाकिस्तानले समूह १ को उपविजेता अस्ट्रेलियाको सामना गर्नेछ । बुधबार समूह १ विजेता इंग्ल्यान्ड र समूह २ उपविजेता न्युजिल्यान्डबीच अबुधाबीमा पहिलो सेमिफाइनल हुनेछ ।    

( कान्तिपुर दैनिक )