अर्पण च्यासलमा अनुबन्धित
News Desk
Nov-09 , 2021 तारिख 01:24 बेलुका

काठमाडौँ — नेपाल यू–२३ टिमका कप्तान अर्पण कार्कीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युवा क्लबको गोलपोस्ट सम्हाल्ने भएका छन् । उनीसहित भारतीय मिडफिल्डर शेम मार्टनलाई अनुबन्ध गरेको सोमबार क्लबले जनाएको छ । २१ वर्षीय अर्पणले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेलेका थिए, जहाँ उनको टिम प्लेअफसम्म पुगेको थियो । साफ यू–१८ च्याम्पियनसिप २०१७ को च्याम्पियन नेपाली टिमका कप्तान उनीसँग माल्दिभ्स (जेजे स्पोर्ट्स) र भुटान (परो एफसी) को लिगको अनुभव पनि छ । उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ को स्वर्ण विजेता टिमका सदस्य हुन् । उनले गत वर्षको ‘ए’ डिभिजन लिग पुलिसबाट खेलेका थिए । च्यासलले दक्षिण एसियाली खेलाडीको कोटामा केरलाका मार्टनलाई आई लिग क्लब चेन्नई सिटी एफसीबाट भित्र्याएको हो ।

२०१८ नोभेम्बरदेखि चेन्नई सिटीमा आबद्ध रहेका उनी केरला यू–१९ टिमका पूर्वकप्तान हुन् । यी २६ वर्षीय सेन्टर मिडफिल्डर र अर्पणको आगमनले टिम बलियो भएको च्यासल युथका अध्यक्ष रमेश व्यञ्जनकारले बताए । कात्तिक २९ देखि सुरु ‘ए’ डिभिजन लिगका लागि च्यासलले प्राविधिक निर्देशकमा स्कटिस प्रशिक्षक ली मान्सनलाई आबद्ध गरिसकेको छ । मुख्य प्रशिक्षकमा बालगोपाल साहुखललाई निरन्तरता दिएको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, डिफेन्डर कमल श्रेष्ठजस्ता अनुभवी खेलाडीलाई समेटेको च्यासलले नेपाली मूलका इटालियन खेलाडी विकास मेराग्लियालाई पनि भित्र्याइसकेको छ । च्यासलले कात्तिक ३० गते ‘ललितपुर डर्बी’ मा थ्रीस्टारविरुद्ध प्रतिस्पर्धा गर्दै यो सिजनको लिग यात्रा थाल्नेछ ।  

( कान्तिपुर दैनिक )