News Desk
दुबई — २८ कात्तिक २०७८
दुबई , आईसीसी ट्वान्टी–२० विश्वकप फाइनलमा आइतबार अस्ट्रेलियाको सामना गर्न लागेका केन विलियम्सन नेतृत्वको न्युजिल्यान्डले एकै वर्ष दोस्रोपल्ट विश्वव्यापी प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिनेछ । दुवै टोलीले अहिलेसम्म ट्वान्टी–२० विश्वकप जितेका छैनन् । अस्ट्रेलिया र न्युजिल्यान्डले आफ्नो पुरानो प्रतिद्वन्द्वितालाई दुबईमा नवीकरण गर्दैछन् । दुवै टोली क्रिकेटको सबैभन्दा छोटो फर्म्याटको विश्वकप उपाधि पहिलोपल्ट जित्ने अभियानको नजिक छन् । जुनमा भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको न्युजिल्यान्ड लगातार तेस्रोपल्ट आईसीसी प्रतियोगिताको फाइनल खेल्दै छ । सेमिफाइनलमा न्युजिल्यान्डले उपाधिको प्रमुख दाबेदार मानिएको इंग्ल्यान्डलाई हराएर सन् २०१९ को एकदिवसीय विश्वकप फाइनलमा बेहोरेको हारको बदला लिएको थियो । पहिलोपल्ट ट्वान्टी–२० विश्वकपको फाइनल खेल्न लागेको न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले आफ्नो टोली अस्ट्रेलियाली चुनौती सामना गर्न उत्साहित रहेको बताएका छन् । फाइनलअघि चोटको समस्याले न्युजिल्यान्ड पिरोलिएको छ । विकेटकिपर डेभोन कोन्वे हात भाँचिएपछि टिमबाट बाहिर छन् । सेमिफाइनलमा आउट भएपछि हातले आफ्नै ब्याटमा हानेर निराशा प्रदर्शन गरेका उनको हात त्यही कारणले भाँच्चिएको हो ।
सेमिफाइनलमा जितका लागि निर्णायक प्रदर्शन गरेका जिमी निसमले अस्ट्रेलियाविरुद्धको फाइनल भावनात्मक हुने बताउँछन् । त्यसका लागि टिमले आफ्नो लय बिगार्न नहुने उनको भनाइ छ । निसमले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध ११ बलमा २७ रन प्रहार गरी खेलको नतिजा उल्ट्याएका थिए । न्युजिल्यान्डले एक ओभर बाँकी छँदै खेल जितेको थियो । आइतबार हुने खेलले सन् २०१५ को एकदिवसीय विश्वकप फाइनल पनि सम्झाउने छ । त्यतिबेला अस्ट्रेलियाले ७ विकेटले खेल जितेर पाँचौंपल्ट विश्वकप उपाधिमा कब्जा जमाएको थियो । आरोन फिन्च नेतृत्वको अस्ट्रेलियाले सेमिफाइनलमा उपाधिको प्रमुख दाबेदार पाकिस्तानलाई ५ विकेटले हराएको थियो । ‘उनीहरूसँग यस्ता खेलाडीको समूह छ, जो वास्तविक म्याच विनर हुन्,’ न्युजिल्यान्ड प्रशिक्षक स्टेडले अस्ट्रेलियाली टिमबारे भने, ‘त्यसैले हामी आफ्नो योजनालाई जस्ताको तस्तै लागू गर्नेछौं । हाम्रा खेलाडीहरू सही लयमा छन् । हामीसँग त्यस्ता खेलाडीका लागि वास्तवमै स्पष्ट योजना छ, जसले खेललाई निकै छिटो अन्त्य गरिदिन सक्छन् ।’
बिहीबार पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया ९६/५ को कमजोर स्थितिमा पुगेको थियो । तर मार्कुस स्टोइनिस (४०) र म्याथ्यु वेड (४१) ले ८२ रनको अविजित साझेदारी गरेपछि एक ओभर बाँकी छँदै टोली खेल जित्न सफल भयो । वेडले तीब्र गतिका बलर साहिन साह अफ्रिदीमाथि लगातार तीन छक्का प्रहार गरेका थिए । त्यसमध्ये दुईवटा स्कुप प्रहार थियो । इनिङ्सको अन्त्यतिर यी दुईको ब्याटिङले दुबई रंगशालामा उपस्थित उल्लेख्य पाकिस्तानी समर्थकलाई चुप लगाइदिएको थियो । स्टोइनिसले विश्वकप उपाधि आफूहरूका लागि अत्यावश्यक रहेको दाबी गरेका छन् । ‘हामी टेस्ट र एसेज हेरेर हुर्किएका पुस्ता हौं । त्यसमाथि ट्वान्टी–२० क्रिकेटमा पनि परिवर्तन भएको छ,’ स्टोइनिसले भने, ‘हाम्रो यहाँसम्मको यात्रा टिमका खेलाडी र प्रशिक्षण अफिसियलबाहेक कसैले पनि विश्वास गरेका थिएनन् । त्यसैले निश्चित रूपमा हाम्रा लागि यो विशेष हुनेछ । जब हामी विश्वकप उपाधि लिएर घर फर्किन्छौं, त्यो गौरवपूर्ण क्षण हुनेछ ।’
अस्ट्रेलियाली प्रशिक्षक जस्टिन ल्याङ्गरले भने, ‘हामीसँग वास्तवमै एउटा समृद्ध इतिहास छ । र, यो सफलतालाई पनि इतिहासको सफलतासँगै जोडेर राख्न पायौं भने हामी खुसी हुनेछौं ।’ अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेविड वार्नरको लय निर्णायक हुनेछ । जसले यो प्रतियोगितामा अहिलेसम्म २ सय ३६ रन प्रहार गरेका छन् । प्रशिक्षक ल्याङ्गरले न्युजिल्यान्डको क्रिकेट ब्रान्डको प्रशंसा गर्दै आफ्नो टोलीले पहिलो उपाधिका लागि सर्वश्रेष्ठ प्रदर्शन गर्नुपर्ने बताएका छन् । ‘पछिल्ला केही वर्षमा न्युजिल्यान्ड क्रिकेटले जसरी आफूलाई ब्रान्डका रूपमा स्थापित गरेको छ, त्यो वास्तवमै सानदार छ,’ ल्याङ्गरले भने, ‘उनीहरूसँग उत्कृष्ट खेलाडी छन्, जसले आफ्नो जिम्मेवारी राम्ररी निभाउन जानेका छन् । यो प्रतियोगितामा न्युजिल्यान्डलाई हराउन हामीले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नुपर्छ ।’
( कान्तिपुर दैनिक )