च्याम्पियनको ‘म्याजिक नम्बर’
News Desk
Nov-14 , 2021 तारिख 01:56 बेलुका

काठमाडौँ — लिग नम्बरको खेल हो । लिगमा त्यस्ता केही ‘म्याजिक नम्बर’ हरू हुन्छन्, जसलाई आत्मसात् गर्न सक्यो भने टिमले सफलता चुम्न सक्छ । यी नम्बर शाश्वत हुने गर्दैनन् । तर यी वास्तवमै ‘म्याजिक नम्बर’ हुने गर्छन् । त्यसमै टिकेर चलाख प्रशिक्षकले चतुर्‍याइँपूर्वक काम गर्न सक्छन् । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा पनि यस्तो नम्बर छ कि ? छ भने वर्ष २०७८ को संस्करण अर्को साता सुरु हुँदा त्यसलाई प्रशिक्षकले आफ्नो योजनामा राख्दा राम्रै हुन्छ । यसपल्टको लिगको सबैभन्दा ठूलो विशेषता हो, कुनै एक टिमलाई उपाधिको प्रवल दाबेदार भन्न सकिँदैन । न त रेलिगेसनमा लागि यही टिम प्रत्याशी हो पनि भन्न सक्छौं । कसैले अनुमान गर्छ भने त्यसको बेग्लै कुरा भयो । यसको कारण हो, यसपल्टको लिगमा न कुनै एक टिम धेरै बलियो छ, न त कुनै एक टिमलाई धेरै कमजोर मान्न सकिन्छ । खास कुरा यत्ति हो कि मछिन्द्रले उपाधि रक्षाका लागि भरपुर प्रयास गर्नेछ र त्यसमा विपक्षी टिमले सक्दो तगारो तेर्स्याउने छन् ।

नेपाली फुटबलमा भएका जति पनि माथिल्लो डिभिजनका लिग भएका छन् । त्यसमध्ये सिंगल वा डबल राउन्डका छन् । त्यसको विश्लेषणका आधारमा एउटा ‘म्याजिक नम्बर’ भने बन्छ । सबैभन्दा इतिहास पल्टाऔं । वर्ष २०४६ को लिग त्यस्तो पहिलो प्रतियोगिता हो, जुन सिंगल राउन्डका रूपमा पहिलोपल्ट भएको थियो । यस्तै वर्ष २०६२ को लिग त्यस्तो पहिलो प्रतियोगिता थियो, जसमा पहिलो पटक डबल राउन्ड प्रयोग भएको थियो । अन्य केही अवसरमा सुपर एट र सुपर सिक्सको नियम पनि लागू भयो । वर्ष २०४६ देखि पछिल्लो वर्ष २०७६ बीच भएका १३ संस्करणलाई आधार मान्ने हो भने एउटा तथ्य के आश्चर्यजनक छ भने विजेता टिम त्यस प्रतियोगितामा पूर्णतः हाबी रहेको छ, एकाध अपवाद छाड्ने हो भने । सुरुमा सबै टिम उस्तै देखिए पनि पछि एकले राम्रैसँग बाजी मारेको पाइन्छ । यहाँनिर वर्ष २०५२ को लिगलाई भने आधार बनाएका छैनौं, किनभने त्यस संस्करणमा समूह विभाजन गरेर अनौठो न अनौठो ढंगले खेलाइएको थियो ।

पोहोर मछिन्द्रले क्लब इतिहासमै पहिलोपल्ट माथिल्लो डिभिजनको लिग जित्दा १३ खेलबाट ३२ अंक बटुलेको थियो । अन्तिम खेल आर्मीविरुद्ध थियो, त्यसमा आर्मी बराबरीमात्र निकालेको भए पनि उपाधि आर्मीको हुने थियो । तर अन्तिम खेलमा आर्मी पराजित रह्यो र २ अंकमात्रको निर्णायक अग्रता लिएर मछिन्द्र विजेता रह्यो । तर उपलब्धि ३९ अंकमा ३२ अंक जित्नुलाई मछिन्द्रको राम्रो प्रदर्शनकै रूपमा लिन सकिन्छ । त्यसभन्दा अगाडि वर्ष २०७५ को लिगमा त मनाङ मर्स्याङ्दीले एकछत्र राज गरेको थियो । मनाङले १३ मध्ये १२ खेल जितेको थियो, त्यो पनि लगातार । खालि अन्तिम खेल फ्रेन्ड्सविरुद्ध गुमाएको थियो । अन्यथा सबै खेल जितेर उपाधि जितेको कीर्तिमान बन्थ्यो । अन्तिम खेल गुमाएर पनि मनाङको त्यो प्रदर्शन नेपाली लिग इतिहासमै अहिलेसम्मको सबैभन्दा राम्रो हो । तर वर्ष २०७० मा मनाङले उपाधि जित्दा १७ खेलमा उपलब्ध ५१ अंकमध्ये ३५ मात्र बटुलेको थियो । त्यसको पनि ठीक अगाडिको वर्ष २०६९ मा थ्रीस्टारले जित जित्दा च्याम्पियनको प्रदर्शन अझ कमजोर रह्यो ।

थ्री स्टारले २२ खेलमा उपलब्ध ६६ अंकमध्ये ४३ मात्र बटुलेर पनि उपाधि जित्न सकेको थियो । वर्ष २०४६ यता च्याम्पियन टिमले कमाएको यो नै सर्वाधिक कम अंक हो, त्यस अर्थमा लिग उपाधि विजेतामध्ये सबैभन्दा कमजोर प्रदर्शन । त्यसअगाडि त्यस्तै कमजोर प्रदर्शन वर्ष २०६६–०६७ को लिगमा विजेता पुलिसको थियो, जसले २२ खेलमा उपलब्ध ६६ अंकमा ५० मै चित्त बुझाएको थियो । अन्यथा नेपाली माथिल्लो डिभिजनको लिगको विशेषता भन्नु नै विजेता टिमको प्रभुत्वशाली प्रदर्शन छ । वर्ष २०४६ देखि २०७६ सम्मका १३ संस्करणलाई आधार मान्ने हो भने लिग जित्न ८२ प्रतिशतको हाराहारीमा अंक जित्नुपर्छ । भनिन्छ, इतिहास आफै दोहोरिन्छ । यो फुटबल र लिगमा पनि लागू हुन्छ ।

त्यसैले भन्न सकिन्छ, यो ‘ट्रेन्ड’ यसपल्ट पनि लगभग लागू हुनेछ । असाध्यै अप्रत्याशित नतिजा आउने सम्भावना पनि कम नै छन् । यसपल्टको लिगमा एउटा टिमले फेरि एकपल्ट समग्रमा १३ खेल खेल्नेछन्, यस्तोमा अधिकतम ३९ अंक उपलब्ध हुनेछ । त्यसमध्ये लिग जित्नका लागि सबैभन्दा सुविधाजनक स्थिति भनेको ३२ अंकको हाराहारीमा हुनेछ । सबैभन्दा कम २६ अंकको हाराहारीमा पनि लिग जित्न सकिन्छ । अधिकतम र कमबीचको अन्तर ६ अंक रहेको छ । जुन टिमको उद्देश्य लिग जित्नुहुनेछ, त्यसले बढीमा १० र कम्तीमा ९ खेल जित्नुपर्नेछ, त्यसो भनेको १० नै भयो । अंकमा भन्दा ३० को हाराहारीमा । यसपल्ट कुन टिम १० खेल जित्न सक्षम छ त ? पोहार मछिन्द्रले लिग जित्दा पनि ठ्याक्कै १० खेल नै जितेको थियो ।   

( कान्तिपुर दैनिक )