News Desk
लुम्बिनी — क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सत्यजित सरकार निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न एसोसिएसनको पहिलो अधिवेशनबाट चारवर्षे कार्यकालका लागि सरकारले नेतृत्व लिएका हुन् । उनले प्रतिद्वन्द्वी मोहम्मद सफिक (समिर खान) लाई हराएका थिए । सरकारले ४४ मत पाए भने प्रतिस्पर्धी खानले २२ मतमात्रै प्राप्त गरे । अध्यक्षका दुवै प्रत्याशी रूपन्देहीका हुन् । उपाध्यक्षमा ४३ मतसहित लक्ष्मणनाथ योगी निर्वाचित भए । उनका प्रतिस्पर्धी वासुदेवलाल कर्णले २३ मत पाए । सचिवमा ३४ मतसहित मनोहर अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धी मेहबुब रेजा राइनले ३२ मत पाए । कोषाध्यक्षमा हिमालराज गिरी सर्वसम्मत निर्वाचित भए । तीन पदमा निर्वाचन भए पनि अन्य पदमा निर्विरोध चयन भएको थियो । एसोसिएसनको सदस्यमा मांगीलाल शर्मा, नीरजकुमार सिंह, सुरजरत्न शाक्य, सञ्जयकान्त सिग्देल, मञ्जुल भट्टराई, महेश बोहरा चुनिएका छन् । महिला सदस्यमा सुनीता नेपाली चुनिइन् ।
निर्वाचित भएपछि अध्यक्ष सरकारले आफ्नो कार्यकालमा अम्पायर र स्कोररलाई नियमित पारिश्रमिक, भत्तालगायतका सुविधा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन । देशभरका अम्पायर र स्कोररलाई गोलबद्ध गर्ने उद्देश्यसहित अम्पाएर बुद्धिबहादुर प्रधानको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो । यसलाई आधिकारिता दिँदै पहिलोपल्ट एसोसिएसनले अधिवेशन गरेको हो । संस्थामा मुलुकभरका ७० अम्पायर र स्कोरर आबद्ध छन् । निर्वाचनमा कुल मतमध्ये ६६ मत खसेको निर्वाचन अधिकृत कुलमणि ज्ञवालीले जानकारी गराए । अम्पायर सत्यजित सरकार पूर्व खेलाडी पनि हुन् । उनले २०३८ सालमा भारतको कोलकातामा अध्ययन गर्दैगर्दा नेपाल आई भैरहवामा अञ्चलस्तरीय क्रिकेट प्रतियोगिता खेलेका थिए । पहिलो खेलमै सर्वोत्कृष्ट बनेका उनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन ।
उनले ७ वटा राष्ट्रिय प्रतियोगिता खेले । सत्यजित एक समय वीरगन्जमा खेल हेर्न गएका बेला त्यहाँ अम्पायरिङ गरिरहेका अम्पायरका बुवाको मृत्यु भएपछि उनी काठमाडौं फर्किनुपर्यो । खेलमा अम्पायर आवश्यक पर्यो । त्यहाँ सत्यजितले अम्पायरको भूमिका निभाए । त्यहींबाट उनको अम्पायरिङ यात्रा सुरु भएको थियो । ‘त्यही प्रतियोगिताबाट अम्पायर बन्न सिकें,’ उनले सुनाए, ‘क्रमशः अम्पायरको तालिम लिँदै क्रिकेटमा अघि बढेको हुँ ।’ सन् १९९९ मा एसीसीको लेभल वान बंगलादेशमा पूरा गरेका सत्यजितले सिंगापुरमा लेभल टु अम्पायरिङ कोर्स पूरा गरेका थिए । सन् २००० मा सम्पन्न पहिलो एसीसी इलाइट कपबाट आफ्नो अन्तर्राष्ट्रिय अम्पायरिङ यात्रा थालनी भएको उनले बताए । लगत्तै उनले एसीसी ट्रफीमा अम्पायरिङ गरेका थिए । अम्पायर्स एन्ड स्कोरर्स संघलाई संस्थागत रूपमा अघि बढाएर अम्पायर र स्कोररको हकहितका लागि काम गर्ने उनको लक्ष्य छ ।
४ वर्षअघि तदर्थ समिति
नेपालका क्रिकेट अम्पायर तथा स्कोररलाई संगठित गरी अघि बढ्न ४ वर्षअघि क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसन अफ नेपालको तदर्थ समिति गठन गरिएको हो । अध्यक्ष थिए अम्पायर बुद्धिबहादुर प्रधान । उनले तदर्थ समितिमा राखिरहँदा केही कार्य गर्न नपाइएकाले यसलाई पूर्णता दिई १५ सदस्यीय नयाँ समिति बनाएको बताए । विराटनगरका उनले अम्पायर तथा स्कोररको भूमिका र महत्वलाई बुझाउन आफूहरू संगठित हुनुको विकल्प नरहेकाले त्यसैअनुसार अघि बढेको जानकारी दिए । संस्थामा नयाँ सदस्य थपिने र विधान नै बनाएर अम्पायर र स्कोररका लागि काम गर्ने वातावरण बनाइने उनले बताए । प्रधानले पुराना तथा पोख्त अम्पायर सत्यजितको नेतृत्वमा रहेको टिमलाई आफूले बाहिरै रहेर सहयोग गर्ने प्रतिबद्धता सुनाए ।
( कान्तिपुर दैनिक )