भरतपुरमा विद्यालयस्तरीय पौडी सुरु
News Desk
Nov-14 , 2021 तारिख 02:08 बेलुका

चितवन — भरतपुरमा शनिबार राष्ट्रव्यापी विद्यालय स्तरीय पौडी प्रतियोगिता सुरु भएको छ । पहिलो दिन ११ विधामा प्रतिस्पर्धा भयो । ९ देखि १० वर्ष उमेर समूहको २५ मिटर ब्रेस्टस्ट्रोक छात्रतर्फ स्प्रिङडेल नेपालगन्जका विशेष सिंहले स्वर्ण पदक जिते । चितवनका शुभान्सराज केसीले रजत र नेपालगन्जकै सुशान्त बोहराले कांस्य जिते । ११ देखि १२ वर्ष उमेर समूहको ५० मिटर ब्रेस्टस्ट्रोकमा काठमाडौंका जोर्डन श्रेष्ठले स्वर्ण र नेपालगन्जका दिवस रजत पदक हात पारे । १३–१४ वर्षको एक सय मिटर ब्रेस्टस्ट्रोकमा काठमाडौंका जदेन श्रेष्ठले स्वर्ण र अर्थव सिंहले रजत पदक जिते ।

१५ वर्षमाथिको एक सय मिटर ब्रेस्टस्ट्रोकमा काठमाडौंका गौरव लामाले स्वर्ण जिते । काठमाडौंका यजु महर्जनले रजत र नेपालगञ्जका सुमन न्यौपानेले कांस्य जिते । सोही विधाको छात्रातर्फ काठमाडौंकी परी भण्डारीले स्वर्ण पदक जितिन् । ९–१० वर्षको २५ मिटर बटरफ्लाईमा नेपालगन्जका सुवाङ बोहराले स्वर्ण र विशेष सिंहले रजत जितेका छन् । ११–१२ वर्ष उमेर समूहको ५० मिटर बटरफ्लाई छात्रातर्फ नेपालगन्जका अमित रावलले स्वर्ण रदिवस रेग्मीले रजत जिते । सोही इभेन्टको छात्रातर्फ काठमाडौंकी आश्रेस्ता राईले स्वर्ण जितिन् ।

१३–१४ वर्ष उमेर समूहको एक सय मिटर बटरफ्लाईमा काठमाडौंका प्रारम्भ भण्डारीले स्वर्ण हात पारे । काठमाडौंका अर्थव सिंह र अभ्यान्तर विक्रम राईले क्रमशः रजत र कांस्य जिते । १५ वर्षमाथिको एक सय मिटर बटरफ्लाईमा काठमाडौंका यजु महर्जन स्वर्ण विजेता भए । नेपालगन्जका सुमन न्यौपानेले रजत जिते । ८ वर्षमुनि ब्याकस्ट्रोक छात्रतर्फ काठमाडौंका रचित बुढाथोकीले स्वर्ण जिते । काठमाडौंकै मिर्नल श्रेष्ठले रजत र मोहन श्रेष्ठले कांस्य जितेका छन् । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । ३६ विधामा ८ देखि १५ वर्ष उमेर समूहका खेलाडी प्रतिस्पर्धी छन् ।             

( कान्तिपुर दैनिक )