News Desk
काठमाडौँ — कुनै समय सानुमान तुलाधरको तेबहाल स्थिति घर उनको आफ्नो घर मात्रै थिएन । त्यो सिंगै संकटा क्लब थियो । खेलाडीको ‘डाइट’ त्यही घरमा पाक्थ्यो । खेलाडी, साथीभाइ सबै बेलामौकामा त्यहीं सुत्थे । त्यहीं खान्थे । संकटा क्लबमाथि यो तुलाधर परिवारले धेरै गुन लगाएको छ । सानुमान आफैं अब रहेनन् नै । न त्यो घर नै रह्यो । उनको साइँला छोरा रजतमानले त्यहाँ नयाँ घर बनाइसके । यो संकटा मन्दिरको छेउमै छ । सानुमान आफैं खेलाडी थिए । पुरानो जमानामा एनआरटीका लागि गोलरक्षक थिए । संकटा आठ सालमा जन्मेको क्लब थियो । त्यसको केही समयपछिका खेलाडी हुन्, यी सानुमान । उनका चार छोरा थिए, त्यसमध्ये तीन जनाले नेपाली राष्ट्रिय टिमका लागि खेले । त्यसमध्ये माइला थिए, ईश्वरमान । कान्छो भए, राजुमान । यी तीन जनामध्ये सबैभन्दा उत्कृष्ट खेलाडी थिए, ईश्वरमान । संकटाका कप्तान पनि भए । नेपाली राष्ट्रिय टिमको नेतृत्व पनि सम्हाले ।
उनी खेलाडी मात्र राम्रा थिएनन् । खुबै भलाद्मी थिए । उत्तिकै मिजासिला पनि । ठूलो स्वरले बोल्न कहिलै जानेनन् । अनुहार पनि सुन्दर थियो । त्यसलाई सुहाउने घुम्रिएको केही लामो कपाल पनि । अहिले पनि रजतमानको घर जानुपर्छ, तलापिच्छे त्यो जमानका तस्बिर टाँसिएका छन् । त्यसमध्ये एउटा तस्बिरमा ईश्वरमान र रजतमान दाजुभाइले बडो सानले त्रिभुवन च्यालेन्ज सिल्ड उचालिरहेका छन् । यो हो, २०३५ सालको श्यामश्वेत तस्बिर । श्याम चित्रकारले यसलाई खिचेका थिए । ईश्वरमान खालि दुई वर्षले मात्र जेठा थिए, रजतमान भन्दा । रजतमान उनलाई खुबै मायाले ‘दाइचा’ भन्थे । संकटाले त्यो वर्ष त्रिभुवन च्यालेन्ज सिल्ड जितेको थियो, फाइनलमा कोसी–११ लाई हरायो । संकटाको ७० वर्ष लामो इतिहासमा क्लबले प्राप्त गरेको सबैभन्दा ठूलो र गर्विलो सफलता यही हो ।
उनको समयमा संकटा त ‘ए’ डिभिजनबाट खेल्थ्यो नै, छेउमै सुन्धारा क्लब नामले अर्को ‘ए’ डिभिजन खेल्ने टिम पनि थियो, ईश्वरमानले सुरुमा यहींबाट खेले । सबै नयाँ र युवा खेलाडीले एकैपल्ट आफ्नो टोलको क्लबबाट कहाँ खेल्न पाउँथे र ? त्यो जमाना नै त्यस्तो थियो । तेबहाल संकटाका घरघरमा खेलाडी हुन्थे, संकटाका आफ्नै दुई ‘ए’ डिभिजन क्लब थिए । तर ईश्वरमान राम्रो खेल्न थालेपछि संकटाको मूल टिममा परिहाले । यसैक्रममा त्रिभुवन च्यालेन्ज सिल्ड जिते । त्यससँग जोडिएको त्यो तस्बिर र घटना उप्काउनुपर्छ, ६७ वर्षीय रजतमान अझै पनि भावुक हुन्छन् । उनलाई बोल्न गाह्रो हुन्छ, शब्दहरू मुखबाट हत्तपत्त निस्कँदैनन् ।
अभ्यासमा दुर्घटना
हुन पनि कुनै दिन यही तुलाधर परिवारमाथि ठूलै विपत्ति आइपरहेको थियो । यो विपत्ति त्यो परिवारको मात्र थिएन, नेपाली फुटबलकै पनि थियो । राष्ट्रिय टिमका सदस्यका रूपमा ईश्वरमानले सन् १९७२ तिर एसियन युथ खेलेका थिए । त्यही वर्ष उनले चीनको पनि भ्रमण गरे । सन् १९७९ तिर मैत्रीपूर्ण खेलका लागि नेपाली टिम फेरि चीन जाने भयो । त्यसका लागि दशरथ रंगशालामा जोडतोडले राष्ट्रिय टिमको तयारी चलिरहेको थियो, कप्तान उनी आफैं थिए । यो भयो, २०३७ साल साउनको कुरा । साउन ३० को बिहान खेलाडीहरू वार्मअप गर्दै थिए । त्यतिबेला एउटा खेलाडीले अर्कोलाई ढाडमा उचाल्ने चलन थियो । त्यो दिन किरण खड्काले यसरी नै ईश्वरमानलाई उचाले । तर त्यो असन्तुलित रह्यो । दुर्घटनावश उनी भुइँमा झरे । घाँटीमा चोट लाग्ने गरेर बजारिए । सुरुमा सबैले त्यसलाई सामान्य माने । तर त्यस्तो थिएन । एकैछिन पछि ईश्वरमानले महसुस गरे, घाँटीमुनिको शरीरको कुनै भाग पनि चल्दैन ।
उनलाई तुरुन्तै वीर अस्पताल लगियो । घरमा रहेका रजतमानले खबर पाएपछि तुरुन्तै अस्पताल लागे । त्यही दिन उनको शल्यक्रिया गरियो । भनिएको थियो, घाँटीसँग जोडिएको मूल हड्डी टुटेको छ । यसले टाउको जोड्ने नसामा गम्भीर चोट पुर्याएको छ । राष्ट्रिय टिमका खेलाडी अभ्यासका क्रममा घाइते भएको समाचार तत्कालीन काठमाडौंमा फैलिन कत्ति पनि समय लागेन । शल्यक्रिया बिहान ११ बजे सुरु भएर राति नौ बजेसम्म चलेको थियो । शल्यक्रियाका बेला तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह आफैं पूरा समय अस्पतालमै रहे । सँगै थिए, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव शरदचन्द्र शाह र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कमल थापा पनि । परिषद् र एन्फाले ईश्वरमानको उपचारका लागि कुनै कसर बाँकी राखेन । सक्दो सबै गरेको थियो ।
गुनासो गर्ने कुनै ठाउँ थिएन । एकपल्ट उनलाई उपचारका लागि विदेश लाने कुरा पनि भएको थियो, तर किन हो, यो अगाडि बढेन । शल्यक्रियापछि पनि उनको घाँटीमुनिको भाग चलेको थिएन । उपचारकै क्रममा उनलाई निमोनियाले पनि छोयो । यसैक्रममा भदौ ३० मा उनको निधन भयो । सबैको अथक् प्रयासले पनि उनलाई बचाउन सकिएको थिएन । यसरी नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अभ्यासकै क्रममा घाइते भएका थिए र यसैक्रममा उनले मृत्युलाई पनि आत्मसात् गरे । घटना भएको ४१ वर्ष भइसक्यो, अझै पनि यसबारे बोल्दा रजतमानलाई साँच्चै गाह्रो हुन्छ ।
सबैका प्रिय
ईश्वरमान सबैका प्रिय थिए । रजतमानका लागि अझ धेरै प्रिय । उनको नेतृत्वमा संकटा मजबुत टिम बनेको थियो । तुलाधर परिवारका हर्ताकर्ता पनि उनी नै थिए । खेलाडी भएर पनि पढेलेखेका थिए । रातिराति सोल्टी होटलको जागिर पनि खान्थे । ईश्वरमान र रजतमानले सँगसँगै विवाह गरेका थिए, २०३६ सालको फागुनमा । बिहेको छ महिना बित्दा नबित्दै ईश्वरमानको निधन भएको थियो । अनुमान गर्न पनि गाह्रो छ, नयाँ दुलहीलाई कति धेरै वज्रपात पर्यो होला । पछि पारिवारिक सल्लाहअनुसार ईश्वरमानको शरीरमाथि बिहेका बेला सगुनमा ल्याइएको सुपारी राखेर पारपाचुके गरिएको थियो । यति खुला मनस्थितिको थियो, तुलाधर परिवार । चाहन्थ्यो, बुहारीलाई भविष्यमा केही गाह्रो नहोस् । यता बुबा सानुमानका लागि पनि आफ्ना सबैभन्दा भरोसा गर्न योग्य छोराको निधन कम्तीको दुःख रहेन । एक प्रकारले ईश्वरमान राष्ट्रिय टिम र संकटाका मात्र कप्तान थिएनन्, उनी त परिवारकै पनि कप्तान थिए ।
बुबा सानुमान यही शोकले नराम्रोसँग गले र तीन वर्षपछि उनको पनि निधन भयो । रजतमानकै शब्दमा भन्दा छोराको मृत्युले बुबाको ‘नूर’ सधैंका लागि गिरेको थियो । एक प्रकारले ईश्वरमान भाग्यमानी पनि थिए, उनको शवयात्रा सिन्दुर जात्राकै रूपमा परिणत भएको थियो । वीर अस्पतालबाट टेकुसम्मको यो यात्रामा लगभग भित्री काठमाडौं ओर्लिएको थियो । त्यो दिन पूरा भित्री काठमाडौं शोकमा डुबेको थियो । चारैतर्फ सन्नाटा छाएको थियो । भनिन्छ, त्यस दिन तेबहाल संकटामा नरुने कोही थिएनन् । रजतमान मात्र होइन, त्यो समयका धेरै काठमाडौंवासी ईश्वरमानलाई अझैसम्म पनि मायाले सम्झने गर्छन्, चार दशक बितिसक्दा पनि । वास्तवमै उनी यति लोकप्रिय थिए । रजतमान अझै पनि उनीबारे कुरा गर्दा छिनछिनमा ‘झी दाइचा, झी दाइचा’ भन्छन् । अर्थात् हाम्रा दाजु । तर यिनै प्रिय ‘दाइचा’ ईश्वरमानको कथा अब धेरैले नसुनेको इतिहास पो भइसकेको छ ।
( कान्तिपुर दैनिक )