इन्दुको कीर्तिमानी अर्धशतक
News Desk
Nov-17 , 2021 तारिख 01:25 बेलुका

काठमाडौँ — इन्दु बर्मा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । उनको ५५ रन मदतमा नेपालले मंगलबार कतारलाई तीन खेल शृंखलाको पहिलो खेलमा १ सय १९ रनले पराजित गरेको छ ।  कतारले टस जितेपछि दोहाको वेस्ट इन्डपार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाई १ सय ४६ रन बनायो । जवाफमा कतारलाई ११.५ ओभरमा २७ रनमै अलआउट गर्दै नेपालले शृंखलामा अग्रता लिएको हो । अर्को साता यूएईमा हुने ट्वान्टी–२० महिला विश्वकप छनोटको तयारीका लागि नेपाली टोली कतार भ्रमणमा छ ।

कतारका सात ब्याटर खाता नखोली आउट भए । खादिजा इम्तियाज र एन्जलिन मारेले ८–८, केरी पोउनसेटले ७ र रिज्फा बानो इमानुइलले ३ रन बनाए । कविता कुँवरले पहिलो ओभरमै लगातार बलमा कतारकी कप्तान आयशा र साची धवललाई आउट गरिन् । सीता रानामगरले पनि पाँचौं ओभरमा लगातार दुई विकेट लिनेक्रममा पोउनसेट र एलिना खानलाई बोल्ड गरिन् । कप्तान रुबिना क्षेत्रीले १.५ ओभर बलिङ गर्दै १ रनमात्र खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

यसअघि नेपालको सुरुआत पनि राम्रो थिएन । ओपनर काजल श्रेष्ठलाई मारेले ३ रनमा कट एन्ड बोल्ड गरिन् । सीता र इन्दुले दोस्रो विकेटमा ८८ रनको साझेदारी गरेका थिए । सीता ३३ बलमा ३९ रन बनाई स्टम्पआउट भइन् । उनले ५ चौका प्रहार गरिन् । ४५ बलमा अर्धशतक पूरा गरेकी इन्दु ३ ओभरअगाडि ‘रिटायर्ड हर्ट’ भएर मैदान छाड्न बाध्य भइन् । उनले कुल ४७ बल खेल्दै ५ चौका प्रहार गरिन् । उनी प्लेयर अफ द म्याच भइन् । दुई बल खेलेकी रुबिना शून्यमा रनआउट भइन् । सरिता मगरले २१ बलमा २ चौकासहित २१ रन बनाइन् । उनी इनिङ्सको दुई बलअघि रनआउट भइन् । कविता कुँवर १२ बलमा ८ रन बनाई अविजित रहिन् । मारे र सबिजा पानायानले १–१ विकेट लिए ।    

( कान्तिपुर दैनिक )