अब लिग खेल्न स्वास्थ्य जाँच
News Desk
Nov-17 , 2021 तारिख 01:28 बेलुका

काठमाडौँ — पुनम जर्घामगरसँग जोडिएको एक घटना नेपाली फुटबलका लागि ठूलो पाठ बनेको छ, दुई कारणले । पहिलो, उनको नाम नै बाहिर आउन हुने थिएन । अब भविष्यमा यस्तो गर्न दिनुहुन्न । दोस्रो, ठीक समयमा भएको स्वास्थ्य जाँच । नेपाली महिला राष्ट्रिय टिमले सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको सामना गर्नु अगाडि त्यसका सबै सदस्य ‘पीसीएमए’ बाट गुज्रेका थिए । त्यो भनेको, ‘प्रि–कम्पिटिसन मेडिकल एसिसमेन्ट’ हो । सजिलोमा भन्दा खेलअगाडि गरिने स्वास्थ्य जाँच । त्यसैक्रममा थाहा भएको थियो, पुनमको मुटुमा केही समस्या छ । जाँचअगाडि जे जस्तो स्थितिमा थियो, त्यही स्थितिमा उनले खेलिरहनु ठीक थिएन । त्यो अर्थमा उनी भाग्यमानी रहिन्, समयमै उनले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी पाइन् ।

सहिद स्मारक लिग ‘ए’ डिभिजन शुक्रबार सुरु हुँदै छ । त्यसअघि पीसीएमए अनिवार्य गरिएको छ । सहभागी १४ क्लबका सबै खेलाडीले यो परीक्षणबाट गुज्रिनुपर्नेछ । सबै क्लबमा फिजियोथेरापिस्ट पनि अनिवार्य गरिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पनि यो अनिवार्य गरिसकेको छ । जसले यस्तो गर्दिनँ भन्छ, बुझ्नुपर्छ नेपाली फुटबलका लागि त्यस्ताको अब काम छैन । त्यसको महत्त्व त अब पुनमको एउटा घटनाले नै देखायो । विदेशतिर ठूला नाम चलेका खेलाडी पनि एउटा क्लबबाट अर्को जाँदा प्रक्रिया पूरा गर्न सबैभन्दा पहिले गरिने काम हो । यस्तै स्वास्थ्य जाँच । लियोनल मेसी होस् वा क्रिस्टियानो रोनाल्डो दुवै यही प्रक्रियाबाट गुज्रिएका थिए, नयाँ क्लबमा जाँदा ।

त्यसो त यस्ता स्वास्थ्य परीक्षण यसअघि नभएका पनि होइनन् । खेल विज्ञानको प्रगतिसँगै अब यसको महत्त्व र माग बढ्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि अब यसपल्टको लिगदेखि पीसीएमए अनिवार्य गरेको छ । केही समयअगाडि एन्फाले यही कामका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग यसलाई लिएर सम्झौता गरेको थियो । अहिले त्यस केन्द्रमा फुटबल खेलाडीको क्रमिक पीसीएमए भइरहेको छ । थ्री नेसन्स कपअगाडि राष्ट्रिय टिमका खेलाडी पनि यही प्रक्रियाबाट गुज्रिए । एकपल्ट पीसीएमए परीक्षण गरेपछि त्यो एक वर्षका लागि कायम हुन्छ । त्यसैले माल्दिभ्समा भएको साफ च्याम्पियनसिप २०२१ अगाडि थप पीसीएमए आवश्यक भएन । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट अगाडि त्यसका खेलाडीले पनि यही प्रक्रियाबाट पूरा गरेका थिए । यू–२३ को परीक्षणमा केही खेलाडीमा समस्या देखिएको थियो, तर यसबारे पूरा जानकारी भने बाहिर आएको छैन । सबैभन्दा ठूलो यस्तो समस्याबाट गुज्रेका खेलाडीको नाम बाहिर आउनु भने हुन्न ।

पीसीएमए का क्रममा के के हुन्छ त ? पुरुष राष्ट्रिय टिमसँग आबद्ध फिजियोथेरापिस्ट आविष्कार पुडासैनी भन्छन्, ‘अब खेलाडीको छाती, मुटु, रगत र जोर्नीको परीक्षण गर्नुपर्नेछ । यस्तै खेलाडीको पारिवारिक इतिहास पनि खोजिन्छ ।’ यसैक्रममा खेलाडीले १६ पेज लामो आफ्नो स्वास्थ्य विवरण पनि भर्नुपर्छ । फिजियो पुडासैनी थप्छन्, ‘पीसीएमएले सबैलाई राम्रो नै गर्छ । सबैभन्दा ठूलो कुनै प्रकारको मानवीय दुर्घटना हुनबाट रोक्न सक्छौं ।’ उनी थप्छन्, ‘आफ्नो खेल जीवनमा गम्भीर रहेका खेलाडी सबैलाई यसले फाइदा गर्छ । खेलाडीले आफ्नो ठीक स्थिति बुझ्न सक्छ । क्लबले पनि समयमै आफ्ना खेलाडीबारे जानकारी पाउने गर्छ ।’

नेपाली फुटबलमा पछिल्लो समय देखिएको एउटा ठूलो समस्या थियो, केही विदेशी खेलाडीले आफ्नो ठीक स्थितिबारे क्लबलाई गलत सूचना दिने । पीसीएमए परीक्षणबाट गुज्रिने हो भने खेलाडीले ‘चिट’ गर्ने सम्भावना कम हुन्छ वा हुन्न । फिफाबाट फुटबल मेडिसनमा डिप्लोमा गरेका पुडासैनी पीसीएमएमा सबै चनाखो हुनुपर्ने मान्छन् । पछिल्लो समय एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘रिह्याबलिटेसन सेन्टर’ बनाउने बताएका थिए । पीसीएमएबाट केही समस्या देखिएमा यस्ता सेन्टर आवश्यक पर्छ । यस्ता सेन्टर चोटग्रस्त खेलाडीको उपचारका लागि उत्तिकै आवश्यक हुन्छ । विश्वास गरौं, अबको केही समयमा एन्फा अध्यक्षको घोषणा पनि वास्तविकता बन्ने छ ।

...

‘खेल्दाखेल्दै ज्यान गुमाउनु नपरोस्’

– ऋजु मानन्धर

मुटुरोग विशेषज्ञ, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र

स्पोर्ट्स कार्डियोलोजी समग्र कार्डियोलोजीकै एक भाग हो । मुटुबारे जाँच गर्ने विधाको एक भाग । यसअघि पूरा विश्वमै यसलाई धेरै महत्त्व दिइएको थिएन । पछिल्लो समय केही खेलाडी खेल्दाखेल्दै मैदानमै ढल्ने समाचार आइरहेका छन् । केही त यसैक्रममा मरेका पनि छन् । यस्तो किन हुन्छ, समस्या के हो त ? यसबारे अध्ययन गर्ने नै स्पोर्ट्स कार्डियोलोजी हो । यो विधा विस्तारै विकास हुँदै छ । ठूला खेल संस्थाहरू यसमा चनाखो हुँदैछन्, विशेषतः फिफा र एएफसी ।

नेपालका प्रसंगमा यो निकै पछाडि परेको विधा भयो । हाम्रो गंगालाल अस्पतालमै कार्डियोलोजी सम्बन्धी अन्य विधामा धेरै विकास भएको छ । तर खेलकुदसम्बन्धी मुटु रोगबारे हामीलाई कमै जानकारी भएको स्थिति छ । गंगालाल मुटुसम्बन्धी नेपालको सबैभन्दा ठूलो केन्द्र भयो । त्यसैले करिब ५–६ महिनाअगाडि केन्द्रले आफ्नै प्रयासमा स्पोर्ट्स कार्डियोलोजी सम्बन्धी काम सुरु गरेका थियौं । यसलाई लिएर हामीले एन्फासँग सहकार्य गर्न थाल्यौं । त्यसअनुसार हाम्रो निर्णय थियो, स्पोर्ट्स कार्डियोलोजीसम्बन्धी काम सुरु गर्ने । हामी जान चाहन्थ्यौं, नेपालमा खेलाडीको मुटुको स्थिति कस्तो छ त ? हामीले सुरुआत एन्फा र फुटबल खेलाडीबाट गर्‍यौं । नेपाली खेलाडीका मुटुबारे हामीसँग केही पनि जानकारी नभएको स्थिति छ । त्यसैले हामीले एन्फासँग अनुबन्ध पनि गर्‍यौं । त्यसको पहिलो चरणमा हामीले ३० को हाराहारीमा राष्ट्रिय स्तरका खेलाडीको परीक्षण गरेका थियौं ।

त्यसमा हामीले कसैको ठूलो समस्या पाएनौं । यसैबीच युरो २०२० मा भएको एउटा घटनालाई सबैलाई थाहा छ । डेनमार्कका क्रिस्टियन एरिक्सन खेल्दाखेल्दै ढलेका थिए । त्यतिबेला उनको मुटु केही समयका लागि रोकिएको थियो र सीपीआर गरिएको थियो । यसबारे पूरा जानकारी बाहिर आएको भने छैन । यो घटनापछि पूरा विश्वको स्पोर्ट्स कार्डियोलोजीमा ध्यान गयो र यसलाई हेर्ने नजर फेरियो । यस्तो घटना अब नघटोस् भनेर सावधान कसरी हुने ? यस्तो घटना रोक्न के गर्ने ? र, भएमा के गर्ने भनेर सबैको ध्यान गयो ।

फिफाले पछिल्लो समय कडा नियम बनाएको छ । जुनै स्तरका खेलाडी पनि पीसीएमएबाट गुज्रिनुपर्छ । पहिला पनि यो प्रक्रिया थियो, तर सबै गम्भीर थिएनन् । यसैक्रममा खेलाडीको मुटुको पनि गम्भीर जाँच गर्नुपर्छ । एन्फासँगको सहकार्यकै क्रममा महिला टिमको पनि परीक्षण गरेका थियौं । यू–२३ टिमको पनि गर्‍यौं । त्यसमध्ये महिला टिमका एक खेलाडीमा जन्मजात रोग देखियो । यति धेरै समयसम्म उनको स्थितिबारे जानकारी नहुनु विडम्बना थियो । अहिले लिगअगाडि यस्तै परीक्षण गरिरहेका छौं । यसक्रममा मैले सबै खेलाडीलाई सोध्ने गरेको छु, के तपाईंको मुटुको जाँच यसअघि भएको छ ? त्यसमध्ये ९५ प्रतिशतले यसअघि कुनै पनि समय मुटुको परीक्षण नगरेको बताएका थिए । खेलाडीको मुटु र सामान्य मान्छेको मुटुमा फरक हुन्छ । खेलाडीले लगातार अभ्यास गरिरहेको हुन्छ । कडा परिश्रम गर्छन् । फुटबलमा अझ कडा मिहिनेत गर्छन् । खेलाडीको मुटु कडा परिश्रमपछि त्यसै अनुसार फेरिन्छ ।

खेलाडीको मुटु ठूलो हुने, कसैको मुटु केही सुन्निने, कसैको मुटुको भित्ता बढ्ने, मुटुको चाल कम हुने हुन्छ । केहीमा मुटुको चालमा गडबडी आउन सक्छ । यो खेलाडीले अभ्यास गर्दा मुटुमा हुने परिवर्तन हो । नेपाली र विदेशीको शारीरिक बनावटमा फरक छ । हामीले जति पनि मापदण्डलाई आधार मान्छौं, त्यो विदेशी परीक्षणको आधारमा हो । विदेशी र नेपालीको मुटुमा केही फरक हुन्छ । त्यसैअनुसार विदेशी र नेपाली खेलाडीको मुटुमा पनि फरक छ । भविष्यमा हामीले नेपाली खेलाडीको मुटु यस्तो छ भन्न सक्यौं भने त्यो ठूलो उपलब्धि हुनेछ । त्यसअनुसार हामी निर्णय गर्न सक्छौं । त्यसैले खेलाडीको मुटु परीक्षण हुनुपर्छ भनेर जोड दिइरहेका छौं । फुटबल खेलाडीको मुटुको जाँचपछि हामीलाई केही जानकारी प्राप्त भएको छ । हामी अब अन्य खेलमा पनि जान चाहन्छौं । बाहिरतिर खेलाडीको धेरै स्तरमा मुटुको जाँच हुन्छ । निचोडमा भन्दा हामीले नेपालमै स्पोर्ट्स कार्डियोलोजी क्षेत्रको विकास र विस्तार गर्नुपर्छ । हामी चाहन्छौं, कोही पनि खेलाडीले खेल्दाखेल्दै ज्यान गुमाउनु नपरोस् ।     

( कान्तिपुर दैनिक )