नेपाललाई ट्वान्टी–२० शृंखला
News Desk
Nov-18 तारिख 01:18 बेलुका

काठमाडौँ — २ मंसिर २०७८    

काठमाडौँ , कतारविरुद्धको दोस्रो खेल ६१ रनले जितेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एक खेलअगावै ट्वान्टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ । नेपाली टोली आईसीसी ट्वान्टी–२० महिला विश्वकपको एसियाली छनोट तयारीमा छ । दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३० रनको लक्ष्य पछ्याएको कतारलाई तीन बल बाँकी छँदा ६८ रनमा अलआउट पार्न नेपालकी सरस्वती चौधरीले घातक बलिङ गरिन् । उनले ४ विकेट लिइन् । त्यसका लागि उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चिइन् । कप्तान रुबिना क्षेत्रीले २.३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । सवनम राई, संगीता राई र कविता जोशीले १–१ विकेट लिए ।

लगातार विकेट खेर फालेको कतारी टोलीका लागि कप्तान आयशा (२४) र केरी पाउनसेट (१५) ले मात्र दोहोरो अंकमा रन बनाउन सके ।  यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान रुबिनाको अर्धशतक सहयोगमा ६ विकेटमा १२९ रन स्कोर खडा गरेको थियो । ओपनर ज्योति पाण्डे (६) र तेस्रो नम्बरमा आएकी काजल श्रेष्ठ (३) रनमा आउट हुँदा नेपाल २०–२ को स्थितिमा थियो । तर कप्तान रुबिना र ओपनर कविता कुँवरले तेस्रो विकेटमा ५६ रनको साझेदारी गरेका थिए । ३० बलमा ३१ रन बनाएर कविता आउट भएपछि सरिता मगरले ४ र त्यसपछि आएकी डली भट्ट खाता नखोली आउट भए । इनिङ्सको २ बलअगाडि क्याचआउट हुनुअघि रुबिनाले अप्सरी बेगमसँग मिलेर छैटौं विकेटमा ४२ रनको साझेदारी गरेकी थिइन् । रुबिनाले ४८ बलमा ४ चौका र १ छक्का सहयोगमा ५० रन जोडिन् । अप्सरी २३ रनमा नटआउट रहिन् । कतारकी एंगेलिन मरेले २ विकेट लिइन् ।

प्लेयर अफ द म्याच बनेकी रुबिना महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने दोस्री नेपाली खेलाडी बनेकी छन् । यसअघि मंगलबार कतारमाथि १ सय १९ रन अन्तरको जित हासिल गर्दा इन्दु बर्माले अर्धशतक बनाएकी थिइन् । इन्दुलाई बुधबार प्रशिक्षक जगत टमाटाले आराम दिएका थिए । नेपालले पहिलोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको हो । नेपाल र कतारबीचको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेल बिहीबार हुनेछ । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट अर्को सातादेखि यूएईमा सुरु हुँदै छ । नेपालले पहिलो खेल मंसिर ६ मा हङकङ, ७ मा भुटान, ९ मा कुवेत, १० मा मलेसिया र १२ मा आयोजक यूएईसँग खेल्दै छ । यो प्रतियोगिता विजेता टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाली टोलीले अहिलेसम्म एसिया छनोट पार गर्न सकेको छैन ।    

( कान्तिपुर दैनिक )