मनाङ उत्तिकै बलियो
News Desk
Nov-19 , 2021 तारिख 05:43 बिहान

काठमाडौँ — ३ मंसिर २०७८    

काठमाडौँ , पोखरेली डिफेन्डर राजेन्द्र तामाङले मनाङ मर्स्याङ्दी क्लबमा ६ वर्ष खेलेका थिए । १६ वर्षपछि उनी मुख्य प्रशिक्षकको रूपमा मनाङ फर्किएका छन् । नेपाली फुटबलका अनुभवी नाइजेरियन प्रशिक्षक तोपे फुजाले पनि मनाङसँग सम्झौता नवीकरण गरिसकेका छन् । फुजा उतै रहँदा तामाङको नेतृत्वमा मनाङले लिगको तयारी गरिरहेको छ । ‘टचलाइन’ जसले सम्हाले पनि मनाङ घरेलु प्रतियोगितामा सधैं उपाधि दाबेदार हो । सहिद स्मारक ‘ए’ डिभिजन लिग सर्वाधिक आठपल्ट जितेको क्लब मनाङ नै हो । मनाङ यो कीर्तिमान लम्ब्याउँदै नवौंपल्ट च्याम्पियन हुन्छ त ? मुख्य प्रशिक्षक तामाङले भने, ‘खेलाडीहरू, टिम गेम, टिम स्पिरिट हेर्दाखेरि उपाधि होडमा हाम्रो टिम बलियो मान्नैपर्छ । अनुभवका आधारमा पनि बलियो छ । मनाङ सधैं बलियो टिम हो ।

त्यसैले हामीलाई यसपालि उपाधि जित्ने अवसर छ ।’ उनको टिमले जावलाखेल युथ क्लबविरुद्ध आइतबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै लिग २०७८ को यात्रा थाल्नेछ । टोलीले दोस्रो खेलमा हिमालयन शेर्पा (मंसिर ११) विरुद्ध खेल्नेछ । एक दशकयता नेपाली फुटबलमा सनसनीपूर्ण प्रदर्शन गरिरहेका नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिज, अघिल्लो सिजन मछिन्द्रलाई पहिलोपल्ट लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान गरेका एडेलाजा सोमिडे मनाङ फर्किएका छन् । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीलाई फाइनल पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका डिफेन्डर दिनेश राजवंशीसँगै मिडफिल्डर नितिन थापा र डिफेन्डर नरेन्द्र चौधरीलाई च्यासल युवा क्लबबाट भित्र्याएको छ । मनाङ र मछिन्द्रमा गरी लगातार तीनपल्ट लिग जितेका भेट्रान फरवार्ड दीपक राई, पुलिसका लेफ्ट–ब्याक प्रवेश दनुवार पनि मनाङ फर्किए । फ्रेन्ड्सबाट मिडफिल्डर विश्व अधिकारी र डिफेन्डर सरोज योञ्जन ल्याएको छ । गोलकिपर दीप कार्कीले हिमालयन शेर्पा रोजेपछि मनाङले विशाल सुनारलाई अनुबन्ध गरेको छ ।

एफसी चितवनबाट एनएसएल खेलेका यी युवा गोलकिपरले ब्रिगेड ब्वाइजबाट पछिल्लो सिजनको ‘ए’ डिभिजन लिगमा गोलपोस्ट सम्हालेका थिए । अनुभवी डिफेन्डर तथा गत सिजनका कप्तान कमल श्रेष्ठ च्यासल गए । विशेषगरी अञ्जन विष्टले राष्ट्रिय टिमबाट लगातार उत्कृष्ट प्रदर्शनसहित गोल गरिरहेका छन् । पुजन र दिनेशले पनि पाएका अवसर उपयोग गरिरहेका छन् । यसबाट मनाङ उत्साहित छ । ‘प्रतिस्पर्धाका लागि हामी तयार छौं,’ फरवार्ड अञ्जनले भने, ‘हामी एउटा टिम मात्रै होइनौं, हामी एकै परिवार हौं । व्यवस्थापन र टिम एक परिवारका रूपमा रहेका छौं । यो हाम्रो बलियो पक्ष हो । हामी सबै एकअर्कालाई हातेमालो गरेर अघि बढेका छौं ।’ उनले विश्वकप २०२२/एसियन कप २०२३ छनोट र साफ च्याम्पियनसिप २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका थिए । साफमा नेपाल पहिलोपल्ट फाइनल पुगेको थियो ।

‘अनुभवी र उत्कृष्ट खेलाडी’

मुख्य प्रशिक्षक तामाङले भने, ‘स्वदेशी प्रायः सबै खेलाडी अनुभवी छन् । गोलकिपर विशालले एनएसएल र ‘ए’ डिभिजन लिग खेलिसकेका छन् । उनी राष्ट्रिय यू–२३ टिमका गोलकिपर पनि हुन् । दिनेश, पुजन र अञ्जनको उपस्थितिले टिमलाई बलियो पार्छ नै । क्लबमा फर्किएका प्रवेश पनि राम्रा छन् । समग्रमा हेर्दा सबै खेलाडी राम्रा छन् ।’ मनाङले दक्षिण एसियाली कोटामा भारतीय मिडफिल्डर दयानन्द सिंहलाई निरन्तरता दिएको छ । विकल्पमा रूपेश केसी, निशान लिम्बू र प्रशान्त लामा पनि छन् । अनुभवी डिफेन्डर आदित्य चौधरी र फरवार्ड विमल राना टिममा यथावत् छन् । ‘ओलावाले, एडेलाजा, दयानन्दजस्ता अनुभवी र राम्रा विदेशी खेलाडी पाएका छौं,’ खेलाडी छँदा मनाङबाट लिगको उपाधि जितेका ४५ वर्षीय तामाङले भने, ‘नेपाली टिममा विदेशी खेलाडीको प्रभाव छुट्टै पर्छ । उनीहरू जस्तो भए पनि मैदानमा उत्रँदा विपक्षी टिमलाई अलिकति धक्काचाहिँ पर्छ । मनाङले राखेका खेलाडीहरू राम्रा छन् ।’ नाइजेरियन फरवार्ड एडेलाजाले मोहम्मडन, इस्ट बंगाल, चेन्नई सिटीजस्ता भारतका चर्चित क्लबहरूबाट खेलिसकेका छन् । दुई सिजन एपीएफ क्लब सम्हालेपछि मनाङ पुगेका तामाङ राष्ट्रिय लिग २०७२ विजेता थ्रीस्टारका मुख्य प्रशिक्षक पनि हुन् । आरसीटी, मनाङ, मछिन्द्र र थ्रीस्टामा गरी राजधानीका क्लबमा करिब १२ वर्ष खेलका उनले मनाङमा फर्कंदा रमाइलो लागिरहेको बताए । उनले भने, ‘हामी खेल्दा व्यवस्थापन राम्रै थियो ।

त्यो हिसाबमा अहिलेका खेलाडीलाई दिएको सेवा–सुविधा धेरै राम्रो छ । कुनै कुराको कमी छैन । खेलाडीमा खेल्नुपर्छ भन्ने भावना क्लबले दिलाइरहेको छ । खेलाडीले पनि ट्रेनिङमा समयमा जाने, नठग्ने पाएको छु । यसले क्लबलाई थप बलियो बनाएको छ ।’ एएफसी कोचिङ ‘ए’ लाइसेन्सका आधारमा राजेन्द्र तामाङ मनाङ मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । तर, फुजा काठमाडौं ओर्लिएमा टिम यी नाइजेरियन प्रशिक्षकले सम्हाल्नेछन् । अघिल्लो सिजन (२०७६) मा धनेश प्रजापति र २०७५ मा सुमन श्रेष्ठ मुख्य प्रशिक्षक भए पनि टिमको नेतृत्व फुजाले नै गरेका थिए । त्यस्तो भूमिकाका लागि पनि तामाङ तयार छन् । ‘विदेशी प्रशिक्षकसँग केही सिक्न पाइन्छ कि भनेर आएको हुँ,’ तामाङले भने, ‘उनी आउने कुरा छ । आए भने उनले नै टिमको रणनीति बनाउने हो । उनी नहुँदा टिम मैले हेर्ने हो ।’ देशकै लोकप्रिय र सधैं उपाधि दाबेदार क्लब मनाङको मुख्य प्रशिक्षक हुँदा दबाब पनि उत्तिकै पर्ने उनले सुनाए, ‘दबाबचाहिँ एकदमै हुँदोरहेछ । राति निद्रा पनि राम्रोसँग पर्दैन । टिमको विशेषताको कुरा आउँछ, टिम सन्तुलनको कुरा आउँछ । टिम कसरी बनाउने भन्ने हुन्छ । मुख्यतः कोच र खेलाडीमा समझदारी हुनुपर्छ । त्यसपछि व्यवस्थापनलाई कसरी राम्रो नतिजा दिने भन्ने हो । टिम बलियो छ भनेर त्यतिकै छाड्ने होइन, हरेक खेल महत्त्वपूर्ण मानेर तयारी गर्नुपर्छ ।’

उपाधि होड

कात्तिक ३ देखि लिगको तयारी गरे पनि मैदानको समस्या र खेलाडीको अनुपस्थितिले प्रभाव परेको मुख्य प्रशिक्षक तामाङले बताए । मनाङले कहिले सेन्ट जेभियर्स स्कुलको गोदावरी मैदान त कहिले सानो गौचरणमा ट्रेनिङ गरिरहेको छ । उपाधि होडबारे उनले बोले, ‘चुनौती सबैभन्दा बढी डिफेन्डिङ च्याम्पियन मछिन्द्रको हुनेछ । उपाधि रक्षा गर्ने हिसाबमा उसले टिम अझै बलियो बनाइरहेको छ । त्यसपछि थ्रीस्टार बलियो छ । आर्मी सधैं राम्रै हुन्छ । उसले राम्रो खेलाडी राखिरहेको छ । यिनै दुई–तीन क्लब उपाधि होडमा हुनेछन् ।’ मनाङ गत सिजन तेस्रोमा थियो । टोलीलाई मछिन्द्र र आर्मीले पछाडि पारेको थियो । ए डिभिजनमा डेब्यु गर्दै २०४३ सालदेखि लिगको उपाधिमा ह्याट्रिक गरेको मनाङले पछिल्लोपल्ट २०७५ को लिग जितेको थियो । मनाङ २०६६–६७ मा पाँचौं स्थानमा थियो ।

त्यो नै शीर्ष श्रेणीको लिगमा मनाङको सबैभन्दा खराब प्रदर्शन हो । आक्रामक खेलका लागि मनाङ परिचित छ । टोलीले परिस्थितिअनुसार यसापालि ४–२–३–१ वा ४–३–३ को संरचनामा खेल्न सक्छ । किनभने मनाङलाई अञ्जन, विमल, आफिज, एडेलाजा, दीपकजस्ता अग्रपंक्तिका प्रभावशाली खेलाडीको साथ छ । प्रशिक्षक तामाङ पनि टिमको सबैभन्दा बलियो पक्ष नै आक्रामक शैलीलाई मान्छन्, ‘बल पोजेसनमा राम्रो छ । नअत्तालिने सबैभन्दा राम्रो हो । हाम्रा खेलाडीले आक्रामक खेल खेल्ने पूर्ण विश्वास छ । टिम नै अगाडि बढ्ने र काउन्टर आयो भने त्यसलाई रोक्न तीनजना डिफेन्सको सेट बनाएका छौं ।’                    

( कान्तिपुर दैनिक )

धेरै पढिएको