किरणसिंह र सन्तोषी च्याम्पियन
News Desk
Nov-21 , 2021 तारिख 01:02 बेलुका

नेपालगन्ज — दक्षिण एसियाली खेलकुदका स्वर्णधारी किरणसिंह बोगटी र सन्तोषी श्रेष्ठले सातौं धारा नेपालगन्ज म्याराथनमा बाजी मारेका छन् । किरणले म्याराथन र सन्तोषीले महिला हाफ म्याराथनको उपाधि जितेका हुन् । दुई वर्षअघि १३ औं सागमा किरणले म्याराथन र सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए । नेपाल एपीएफ क्लबका किरण सागपछि पहिलोपल्ट प्रतियोगितामा सहभागी भएका थिए । सन्तोषीले पनि हाफ म्याराथनको पहिलो सहभागितामै सफलता पाएकी छन् । उनले नेपालगन्ज हाफ म्याराथनको कोर्स रेकर्ड पनि तोडिन् । यता, तेस्रो संस्करणमा चौथो भएर फर्केका किरणलाई यसपालि कसैले टक्कर गर्न सकेनन् । उनले निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गरेर स्वर्ण जिते ।

‘धेरैपल्ट हारेर जितेको खेलाडी हुँ,’ जितपछि किरणले भने, ‘जित आफैंमा खुसीको क्षण हो । झन् आफ्नै क्षेत्रमा भएको प्रतियोगिता जित्न पाउँदा खुसी नहुने कुरै रहेन ।’ उनले अलि राष्ट्रियस्तरका प्रतिस्पर्धी खेलाडीको अभाव खट्किएको बताए । कैलालीका किरणले दौडलाई प्यासनमात्र होइन, प्रोफेसन नै बनाएका छन् । उसु, बक्सिङ हुँदै उनी उमेरको उत्तरार्धतिर मात्र दौडमा जोडिएका हुन् । २०७३ सालयता दौडमा होमिएका किरण सागको म्याराथनमा स्वर्ण जितेपछि चर्चामा आएका हुन् । उनी उमेरमा झन्डै ३८ वर्षका भइसके । नेपालगन्जको सडकमा यसअघि पनि दौडिएका किरणलाई सडकको वातावरण सहज लागे पनि रुटको स्तर भने चित्तबुझ्दो लागेन । नेपालगन्ज बीपी चोकदेखि कोहलपुरसम्मको दूरीमा म्याराथन रुट तय गरिएको थियो । ठाउँठाउँ भत्काइएको सडकमा ग्राबेलमात्र बिछ्याइएकाले दौडन असजिलो भएको विजेता किरणले सुनाए ।

किरणले एक लाख रुपैयाँसहित उपाधि उचालेका हुन् । उनलाई पछ्याएका त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतले दोस्रो स्थान भेट्टाए । २ घण्टा ३३ मिनेट २८ सेकेन्डसाथ दोस्रो भएका नरेन्द्रले ५० हजार पुरस्कार पाए । नरेन्द्र निकट दौडिएका एपीएफका सन्तोषविक्रम विष्ट २ घण्टा ३३ मिनेट ३४ सेकेन्डसाथ तेस्रो भए । उनले २५ हजार पुरस्कार पाए । सन्तोषभन्दा १० सेकेन्ड पछाडि रहेर आर्मीका खडकबहादुर खड्काले दौड पूरा गरे । चौथो हुँदा उनको भागमा १५ हजार रुपैयाँ परेको थियो । आर्मीका देवराज महतरा, पाँचथरका प्रताप थाम्सुङ र प्यूठानका हिमु गिरी क्रमशः पाँचौंदेखि सातौं स्थानमा रहेर नगद पुरस्कारको भागीदार बने । छोटो दूरीमा दौडिरहेकी सन्तोषीले हाफ म्याराथनको पहिलो सहभागितामै सफलता नाप्न १ घण्टा १८ मिनेट ४८ सेकेन्ड खर्चिइन् । उनले प्रतियोगिताकी साविक विजेता पुष्पा भण्डारीलाई पछि पारिन् । धादिङकी धाविका सन्तोषीले चौथो संस्करणमा कान्छीमाया कोजूले राखेको १ घण्टा २२ मिनेट ४२ सेकेन्डको कोर्स कीर्तिमान पनि उछिनेकी हुन् ।

सन्तोषीले आफ्नो निरन्तर अभ्यासका कारण जित हासिल गर्न सहज भएको बताइन् । ‘हाफ म्याराथन पहिलोपल्ट दौडिरहेकी थिएँ । जित्छु नै भन्ने त लागेको थिएन । आफ्नो राम्रो दिन्छु भन्ने थियो । उपाधि नै जितें, एकदमै खुसी छु,’ उनले भनिन्, ‘प्रतिस्पर्धी बलियो भएपछि प्रदर्शन आफैं राम्रो हुनेरहेछ । गत वर्षकी विजेता पुष्पा दिदीलाई नै फलो गरेर दौडिएँ, अन्त्यमा ओभरटेक गरेर अगाडि बढें ।’ बलियो प्रतिस्पर्धी भयो भने त्यसमा जित हासिल गर्नुको छुट्टै मजा आउने सन्तोषीको दाबी छ । एपीएफकी धाविका पुष्पा भने १ घण्टा १९ मिनेट १८ सेकेन्डसाथ दोस्रो भएकी हुन् । उनले गत वर्ष उपाधि जित्दा १ घण्टा २७ मिनेट ५४ सेकेन्ड लगाएकी थिइन् । आफ्नो व्यक्तिगत टाइमिङ सुधार भएकामा पुष्पा पनि दंग थिइन् । सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सेकेन्ड निकाल्दै तेस्रो स्थान हात पारिन् । हाफ म्याराथन विजेताले ५१ हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार पुरस्कार पाए । कञ्चनपुरकी सरस्वती बोहरा, साधना शाही, बर्दियाकी कल्पना थारू, सुखर्तेकी चन्द्रमाया राउत र कोहलपुरकी पुष्पा खड्का आठौं स्थानभित्र रहेर नगद पुरस्कारको हकदार बने ।

अन्य विधामा १० किमि पुरुष खुला दौडमा मुकेश पाल, तीर्थ पुन र सन्तोषनाथ योगी शीर्ष तीन स्थानमा विजयी भए । उनीहरूले क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कार पाए । ५ किमि खुला महिलामा पुलिसकी राजपुरा पछाई, फूलमती राना र बन्दना बुढा क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । उनीहरूले क्रमशः १५, १० र ७ हजार रुपैयाँ पुरस्कार पाए । छात्र ५ किमिमा बादल कार्की, अतुल गोडिया र दीपेन्द्र बोहरा तथा ३ किमि छात्रामा सविता बुढा, मन्जिता एडी र रविना शेष शीर्ष तीन स्थानमा विजयी भएका छन् । ह्वीलचियरमा महेश चौधरी प्रथम, यज्ञबहादुर खत्री द्वितीय र चन्द्रबहादुर कामी तृतीय भएका छन् । किड्स रन (ब्वाइज) मा जसमन्त शाही प्रथम, रोहित सुनार द्वितीय र शिशिर थापा तृतीय भएका छन् । गर्ल्समा जमुना पुनमगर प्रथम, समृद्धि बुढा क्षेत्री द्वितीय र रूपा विष्ट तृतीय भएका छन् ।

कर्पोरेट रनमा नवराज जोशी प्रथम, डा. पुष्कर न्यौपाने द्वितीय र विष्णुबहादुर रिमाल तृतीय भएका छन् । कलाकार राजेश हमाल, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, पूर्वमिस नेपाल एसिया प्यासिफिक सहारा बस्नेतको उपस्थितिले यसपालि नेपालगन्ज म्याराथनको माहोल थप रौनक बनेको थियो । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायतले पुरस्कृत गरेका थिए । नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा आर्मीका होमलाल श्रेष्ठ, दोस्रोमा आर्मीकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा पुलिस क्लबका भूमिराज राई, पाँचौंमा आर्मीका नवराज साउद र छैटौंमा एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए । महिला हाफ म्याराथनमा नेपालकी नम्बर धाविका कान्छीमायाले दुई संस्करण (दोस्रो र चौथो) जितेकी थिइन् । पहिलो संस्करणमा आर्मीकी कृष्णेश्वरी सिन्तकला, तेस्रोमा आर्मीकी रेसु बस्नेत, पाँचौंमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने विजेता भएका थिए ।

नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीचमा मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको दिन स्मरण गर्न प्रत्येक वर्ष नेपालगन्जमा म्याराथन हुने गर्दछ । यसपालि शनिबार पार्न एक दिनअघि म्याराथन गरिएको हो । ‘नेपालगन्ज आफैंमा एउटा खेलाडीको सहर नै हो । म्याराथनको सफलताले थप हौसला थपिँदै गएको छ,’ नेपालगन्ज म्याराथनका आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले भने, ‘बिस्तारै व्यवस्थापकीय विशेषता र स्तरीयकरण गर्दै लैजानेछौं ।’ विश्वका ठूला सहरमा हुने सिटी म्याराथनको अवधारणामा यो म्याराथन हुँदै आएको हो ।               

( कान्तिपुर दैनिक )