News Desk
काठमाडौँ — नेपालको देउराली डोजो सातौं जुनियर कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउराली ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारत दोश्रो भयो । भारतले २ रजत र १५ कांस्य जित्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा नेपालका युनिक राना मगर तथा महिलामा नेपालकै याउजुमा लामा उत्कृष्ट खेलाडी घोषित भए । भारतकी प्रतिभा सुरेश जाधव अनुशासित खेलाडी चुनिइन् । विजेतालाई पूर्वयुवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठलगायतले पुरस्कृत गरे ।
२० स्पर्धा समावेश दुईदिने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी थिए । यसैबीच दोस्रो देउराली कप स्वर्गीय भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता आगामी पुषको दोस्रो सातादेखि हुने भएको छ । नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनामा आगामी पुष ९ र १० गते दोस्रो देउराली कप भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता हुन लागेको हो । डोजोको स्थापना कालदेखि नै योगदान पुर्याउँदै आएका भीम चन्द ठकुरीको स्मृतिमा दोस्रो संस्करण आयोजना गरिने नेपाल सितोरियो कराते संघ देउराली डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए । ठकुरीकै सक्रियतामा डोजोको स्थापना भएको थियो । सहिद दशरथ चन्दका भतिजा उनको गत वर्ष निधन भएको थियो ।
( कान्तिपुर दैनिक )