News Desk
लन्डन — म्यानचेस्टर युनाइटेडमा पछिल्लो समय जे जति भयो, निकै तीव्र गतिले भयो । त्यसैले सबै आश्चर्यमा छन् । धेरै होइन, केही समय अगाडि मात्र सबथोक फरक थियो । म्यानचेस्टर सिटीले समेत रुचि देखाएका क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि म्यानचेस्टरमा खुसी छाएको थियो । म्यानचेस्टरका लागि दोस्रोपल्ट ‘डेब्यु’ गर्ने क्रममा न्युकासल युनाइटेडमाथि प्राप्त ४–१ जितमा रोनाल्डोले दुई गोल पनि गरे । लागिरहेको थियो, म्यानचेस्टरमा सबथोक ठीक हुँदै छ । खेलपछिको अन्तर्वार्तापछि रोनाल्डोको एक झलक हेर्न पनि म्यानचेस्टरका हजारौं समर्थक आधा–आधा घण्टा बाहिर कुरेका थिए । त्यसको १० सातापछि नै व्यवस्थापक ओले गनर सोल्सार आइतबार बर्खास्तीमा परेका छन् ।
सुरुमा म्यानचेस्टर लिभरपुलसँग ५–० पराजित रह्यो, पछि सिटीविरुद्धको खेल २–० ले गुमायो । यी दुई हारमा त सोल्सार जोगिए, तर जति बेला शनिबार मात्रै वाटफोर्डविरुद्ध ४–१ को हार बेहोर्यो, त्यो सोल्सारलाई हटाउनका लागि पर्याप्त कारण बन्यो । तथ्यांक छुच्चो हुने गर्छ, न्युकासलमाथिको जितपछि सबैखाले प्रतियोगिताका १३ खेलमा म्यानचेस्टर खालि चारमै मात्र विजयी रहेको थियो । अनि इंग्लिस प्रिमियर लिगका आठ खेलबाट सात अंकमात्रै । त्यसमा एकै खेलमा मात्र क्लिन सिट । अनि सात खेलमा १९ गोल । झन् लिग कपबाट पनि बाहिरिएको स्थिति । वेस्ट ह्यामविरुद्ध सेप्टेम्बरमा डेविड डेगेयाले २–१ जितमा अन्त्यतिर पेनाल्टीमा नजोगाएको भए म्यानचेस्टरको स्थिति अझ कमजोर हुने थियो ।
भिल्लारियल र एटलान्टाविरुद्ध घरमै रोनाल्डोले खेलको अन्त्यतिर तीन गोल नगरेको भए पनि म्यानचेस्टरको स्थिति अझ नाजुक हुने थियो । यो सबै पृष्ठभूमिमा सबैलाई लागिसकेको थियो, त्यस्तो दिन धेरै टाढा छैन, जति बेला सोल्सार बर्खास्तीमा पर्नेछन् । त्यसमध्ये पनि धेरैलाई नर्वेली प्रशिक्षकको काम गराइमै गुनासो थियो । सन् २०१९ मा नियुक्ति पाएयता धेरै त्यस्ता पनि थिए, जसको इच्छा उनी कति बेला असफल हुनेछन् भनेर हेर्नु थियो । तर उनी जति बेला साँच्चै बर्खास्तीमा परे, त्यो पनि खुबै नरमाइलो र नमीठो रह्यो । जोसे मोउरिन्होले क्लब सम्हाल्दाको अन्तिम समयतिर क्लब जुन मोडमा पुगेको थियो, त्यसबाट टिमलाई सोल्सारले बाहिर ल्याएकै थिए र टिममा फर्काएका थिए, आत्मविश्वास । सोल्सारले क्लबको हित र फाइदामै मात्र काम गरे । गत सिजन म्यानचेस्टर अंक तालिकाको दोस्रो स्थानमा आएकै थियो । सन् २०१३ मा एलेक्स फर्गुसनले संन्यास लिएयता म्यानचेस्टरको त्यो प्रदर्शन सबैभन्दा उच्च थियो ।
त्यति बेला १९ खेलको समाप्तिमा म्यानचेस्टर अंक तालिकाको शीर्षस्थानमा पनि पुगेको थियो, जुन स्थान फर्गुसन छँदा उसको आफ्नै जस्तो भएको थियो । युरोपा लिगमा भिल्लारियललाई हराउन सकेको भए पनि सोल्सारको म्यानचेस्टर अर्कै स्थितिमा रहन सक्थ्यो । त्यो सबैको अर्थ यो पनि थिएन कि म्यानचेस्टरको पछिल्लो खराब प्रदर्शनमा उनको कुनै जिम्मेवारी थिएन । उनले खास खास खेलाडीलाई ढंगले सम्हाल्न नै सकेनन् । अल्बानियाविरुद्ध इंग्ल्यान्डले प्राप्त सहज जितमा एक गोल गरेका ह्यारी म्यागुएरले कान थुनेर खुसियाली मनाएका थिए । तर यिनै म्यागुएर वाटफोर्डविरुद्ध रातो कार्ड पाउँदै मैदान छाडे । उनी इंग्ल्यान्डका लागि त राम्रो खेल्छन्, क्लबका लागि भने खराब । यस्ता धेरै उदाहरण छन्, जसमा सोल्सार खास खास खेलाडीको स्थिति सम्हाल्न असफल भएका छन् । सोल्सारमाथि लाग्ने गरेको सबैभन्दा ठूलो आरोप हो, उनमा आफ्नै विशिष्ट शैली रहेको छैन ।
पेप ग्वार्डिओला, योर्गेन क्लोप र थोमस टुचेलसँग उनलाई तुलना गर्ने काम पनि हुन्छ र यसमा सोल्सार पछाडि नै देखिन्छन् । तर सबैले के पनि बिर्सिन्छन् भने जुलियन नागेल्सन, मार्सेलो बिएस्ला र मउरिसो पोचेटिनोको तुलनामा सोल्सारको प्रदर्शन उच्च छ । रोनाल्डो म्यानचेस्टरमा त आए, तर उनले पनि टिमका लागि धेरै केही गर्न सकेका छैनन् । अझ केही हदसम्म उनी आफैं सोल्सारको विपक्षमा देखिए, अनि केही खेलाडी पोर्चुगाली खेलाडीको आगमनमा खुसी पनि थिएनन् । कहाँ चुक्यो म्यानचेस्टर युनाइटेड ? यसको उत्तर सजिलो छैन । म्यानचेस्टरको खराब प्रदर्शन सोल्सारको समयमै मात्र भएको थिएन । असफलताको कारण त धेरै अगाडिदेखि क्लबमा विस्तारै तयार हुँदै थियो, अहिले फेरि एकपल्ट छ्याङ्ग देखिएको मात्र हो । म्यानचेस्टरले फर्गुसनको समयपछि आफूलाई ठीक दिशामा मोड्नै सकेनन् । अहिलेको म्यानचेस्टरको असफलताको सबै दोष सोल्सारलाई मात्र दिनुहुन्न । अनि म्यानचेस्टरको समस्या कसरी, कहिले समाधान हुन्छ, त्यो पनि टुंगो छैन ।
( कान्तिपुर दैनिक )