दीप र स्वेच्छाको जोडी च्याम्पियन
News Desk
Dec-17 , 2021 तारिख 01:50 बेलुका

काठमाडौँ — नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा उपाधि जितेको छ । आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको भैसेपाटीस्थित हलमा भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र मन्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१०, ११–४ को सेटमा पराजित गरे । आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपीएफका अनिता महर्जन र राजिव चिकबन्जारको जोडी तेश्रो भए ।

यू–१६ ब्वाइज सिंगल्समा न्यु होराइजनका प्रवेश बस्नेतले स्वर्ण जिते । उनले फाइनलमा केज एकेडेमीका विशाल गोललाई ३–२ ले हराए । गार्गी एकेडेमीका प्रिन्स थापा र एनिस पिङपोङ क्लबका अद्रियन शाही तेश्रो बने । गल्र्समा आर्मीकी दिया देउला च्याम्पियन बनिन् । फाइनलमा दियाले आर्मीकै सुस्मिता खड्कालाई ३–१ को सेटमा पाखा लगाइन् । एपीएम क्लबकाद्वय योङगी पौडेल र अनामिका कस्ती संयुक्त रुपमा तेश्रो भए । ८ स्पर्धा समावेश प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी छन् । सबै स्पर्धाका पदक विजेतालाई सिओम टेबलटेनिस नेपालद्वारा प्रायोजित ५ लाख रुपैयाा बराबरको टेबलटेनिस खेल सामाग्री पुरस्कार स्वरुप पाउने छन् ।      

( कान्तिपुर दैनिक )