News Desk
काठमाडौँ — वेस्ट इन्डिज क्रिकेट टिम पाकिस्तानविरुद्ध वान डे सिरिज नखेली फर्कने निर्णय गरेको छ । ६ जना खेलाडीलाई कोरोना पुष्टि भएपछि वेस्ट इन्डिज घर फर्किने भएको हो । त्यस्तै खेलाडीबाहेक राष्ट्रिय टिमका २ जना सदस्यलाई पनि कोरोना पुष्टि भएको छ । दुवै टिमको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको पाकिस्तान क्रिकेट बोर्ड र वेस्ट इन्डिज क्रिकेट बोर्डद्वारा संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा भनिएको छ । पाकिस्तान र वेस्ट इन्डिजबीचको एकदिवसीय शृंखला शनिबारदेखि हुने तय भएको थियो ।
शृंखला तत्कालका लागि स्थगित गरिएको र रद्द नगरिएको पनि दुवै देशका क्रिकेट बोर्डले जनाएका छन् । आगामी जुन महिनामा पुन: शृखंला आयोजना गरिने बताइएको छ । वेस्ट इन्डिज टिम पाकिस्तानसँगको तेस्रो ट्वान्टी-२० खेल सकिएसँगै स्वदेश फर्किने भएको छ । बिहीबार भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो । यससँगै पाकिस्तानले ट्वान्टी-२० शृंखला ३-० ले जितेको छ । त्यस्तै कोरोना संक्रमण भएका खेलाडी र टिमका सदस्य भने आइसोलेसन अवधि र नगेटिभ रिपोर्ट आएपछि मात्र फर्कनेछन् ।
( कान्तिपुर दैनिक )