News Desk
काठमाडौँ — ४ पुस २०७८
काठमाडौँ , नेपाल आर्मीकी दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा च्याम्पियन बनेका छन् । भैंसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको हलमा शनिबार सम्पन्न फाइनलमा दीपले एपीएफका संयोग कपालीलाई ११–७, १६–१४, ११–५, ६–११, ७–११, ११–५ को सेटमा पराजित गरे । यसअघि महिला सिंगल्स फाइनलमा आर्मीकी रविना महर्जनले आफ्नै टिमकी दीया देउलालाई ११–३, ११–४, ११–४, ११–३ को सोझो सेटमा हराउँदै शीर्षस्थान हात पारेकी थिइन् । सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि कीर्तिपुरका जयराम महर्जन पहिलो, एनिश पिङपोङ क्लबका रक्तचन्द्र मानन्धर दोस्रो तथा गोड स्पिनका निकेनमान प्रधान र मुकेश महर्जन तेस्रो भए । ५० वर्षमाथि ललितपुर टेबलटेनिस क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, ललितपुरकै राजन सुब्बाले रजत तथा खोल्छा पुखुका नदीम शाक्य र एनिशका कपुर शर्माले कांस्य जिते । ६० वर्षमाथि ललितपुरका आनन्दरत्न धाख्वा प्रथम, ललितपुरकै जगदीशप्रसाद जोशी द्वितीय तथा एपीएमका सुमन खड्गी र ललितपुरका ध्रुवमान श्रेष्ठ तृतीय भए । यसअघि यु–१६ सिंगल्सको ब्वाइजमा न्यु होराइजनका प्रवेश बस्नेत र गर्ल्समा आर्मीकी दीया देउला तथा मिक्स डबल्समा आर्मीका दीप र स्वेच्छा नेम्वाङको जोडी विजेता बनेका थिए ।
( कान्तिपुर दैनिक )