News Desk
कास्की — २३ पुस २०७८
कास्की , स्याङ्जाको वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट २ महिनादेखि सञ्चालनमा आएको छ । दिसाजन्य लेदो व्यवस्थापन सहरी क्षेत्रमा चुनौतिको रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । घरघरमा रहेका सेफ्टी ट्यांकी भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित हुन गएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको खाँणले बताए ।
उनले भने, ‘अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहज रूपमा व्यवस्थापन गर्न सकिने भएको छ ।’ नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्याँस र कम्पोष्ट मल बनाउनुका साथै त्यहाँबाट निस्केको पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाइएको छ । नगरपालिकाले संघसंस्थासँगको सहकार्यमा प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो । लेदो संकलन, भण्डारण, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन गरिने इन्जिनियर दीपेन्द्र मल्लले बताए । ‘सेफ्टी ट्याङ्की भरिएपछि त्यसको विसर्जनका लागि समस्या थियो’ मल्लले भने, ‘प्लान्ट सञ्चालनले सस्तोमा त्यसको उचित ब्यवस्थापन गर्न थालिएको छ ।’ नगरपालिकालाई ६ हजार ५ सय शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने मल्लले बताए ।
( कान्तिपुर दैनिक )